काठमाडौं । भुवन केसीद्धारा निर्देशित तथा उनकै पुत्र अनमोल केसीद्धारा अभिनित चलचित्र ड्रिम्सले पहिलो साता ५ करोड रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।

गत साता रिलिज भएको चलचित्र ड्रिम्स अहिले देशभरका ७६ पर्दाहरुमा प्रदर्शन भइरहेको छ । पहिलो साताको विजनेश हेर्दा यस चलचित्रका निर्माता भुवनले १ करोड रुपैयाँ नेट हात पार्ने देखिएको छ । काठमाडौंमा यसले पहिलो साता ३ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ भने मोफसलबाट मात्र २ करोडको व्यापार गर्न सफल भएको छ । दोस्रो साता पनि ड्रिम्सले उत्साहजनक व्यापार गर्ने स्थिति देखिएको छ । यसअघि बढी व्यापार गर्न सफल कबड्डी कबड्डी चलचित्रको कलेक्सनलाई पहिलो साता नै उछिनेको यो चलचित्रले दोस्रो साता अर्को सुपरडुपर हिट मानिएको परदेशी चलचित्रको कलेक्सनलाई पनि उछिन्ने संकेत देखाएको छ । परदेशीले कुल ६ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो ।

चलचित्र ड्रिम्स सफल हुनुमा अनमोल केसीको क्रेज र स्टारडमलाई एउटै मात्र कारण बानिएको छ । यो उनको तेस्रो चलचित्र हो । समीक्षकहरुले भने ड्रिम्सलाई सामान्य चलचित्रको संज्ञा दिएका छन् । नेपालमा रहेको यसको क्रेजले ओभरसिजमा समेत ड्रिम्सको डिमाण्ड बढेको छ ।

जापानमा अर्को महिना देखाइन लागेको ड्रिम्सको एक महिना अघि नै सबै टिकट बुक भैसकेको छ ।

Comments

comments