मेलबर्न । रोजगारी र अध्ययन सिलसिलामा अस्ट्रेलियामा रहेका चितवनेको संस्था चितवन समाज भिक्टोरियाले भूकम्पले क्षतिग्रस्त सिन्धुपाल्चोकका विद्यालयहरुको पुननिर्माणका लागि सहयोग गरेको छ ।

समाजले सिन्धुपाल्चोकको बाँसखर्कस्थित भीम विद्याश्रम मावि, बाल विकास प्रावि र जनहित निमाविको भवन निर्माणको सहयोगार्थ सहयोग हस्तान्तरण गरेको हो । यसका लागि अस्ट्रेलियामा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको हस्ताक्षरसहितको ब्याट र पञ्जा बिक्री गरेर सहयोग जुटाइएको थियो ।

पारसकै सल्लाहमा अस्ट्रेलियाको डार्विन, सिड्नी र मेलबर्न सिटीमा नेपालीबाट संकलन गरिएको रकम भवन निर्माणमा सघाउने गरी स्थानीय सामाजिक संस्था चाइल्ड रिच नेपाललाई १० लाख रुपैयाँको चेक बिहीबार प्रदान गरिएको हो ।
चेक वितरण कार्यक्रममा कप्तान पारस पनि उपस्थित थिए ।

चितवन समाज भिक्टोरिया अध्यक्ष सोमप्रसाद गुरुङले ६० प्रतिशत रकम क्रिकेट सामग्री बिक्री गरेर जुटाएका बताउँदै पारसले हस्ताक्षर गरेको एउटा ब्याट २ लाख रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भएको जानकारी दिनुभयो । सबैले विद्यालय भवन निर्माण गर्न चासो दिएर क्रिकेट सामग्री किनेको उहाँले बताउँनुभयो । अहिले ३ वटा विद्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

३ वटा विद्यालयमा ४ सय ५० जना विद्यार्थी रहेको चाइल्ड रिच नेपालका उर्गेन लामाले बताउँनुभयो ।

चितवन समाज भिक्टोरियाले विभिन्न सामाजिक काममा सहयोग गर्दै आएको छ । धरहरा पुनः निर्माणमा पनि सहयोग गर्ने अध्यक्ष गुरुङले प्रतिवद्दता व्यक्त गर्नुभयो ।

Comments

comments