बारा । सिमरा गोल्डकप फुटवल प्रतियोगिताको सातौ संस्करणको उपाधीका लागि शनिवार हेटौडाको बिजय युथ क्लब र रुपन्देही एघार बीच प्रतिस्पर्धा हुदैछ । दुवै टोली पहिलो उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने तयारीमा छन् ।

ए डिभिजनका क्लबहरुलाई हराउदै उपाधी नजिक पुगेका मोफसलका विजय युथ र रुपन्देही बीचको खेल सिमरा रंगशालामा अपरान्ह तीन वजे सुरु हुनेछ । म्याच अघि शुक्रवार भएको प्रि म्याच कन्फरेन्समा दुवै टिमका प्रशिक्षकहरुले उपाधि आ आफूले जित्ने दाबी गरेका छन्. । बिजय युथका प्रशिक्षक सुविन घिमिरेले रुपन्देहीसंग राम्रा खेलाडी भएपनि आफ्नो युवा टोलीले कडा चुनौती दिने प्रतिकृया दिए । विजय युथले सेमीफाइनलमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा हराएको थियो ।

उता आफ्नो पहिलो खेलमा नै सशस्त्र प्रहरी बललाइ हराएको रुपन्देहीले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिदै सेमीफाइनलमा दुई पटकको च्याम्पियन मनाङ मस्र्याङदीलाइ हराएको थियो । रुपन्देहीका सहायक प्रशिक्षक जगुनाथ खड्काले मैदानमा अनुभवको प्रयोग गर्ने बताए । तर विजय युथलाई कमजोर नठान्ने उनले स्पष्ट पारे ।

रुपन्देहीका कप्तान दिलिप क्षेत्रीले जित्ने लक्ष्य लिएर आफूहरु मैदानमा उत्रने र राम्रो खेल प्रदर्शन गर्ने बताए । यता वियज युथका कप्तान अशोक बरालले पनि आफ्नो टोली माथि आफू पुर्ण बिश्वस्त रहेको बताए । दुवै टिमका कप्तान गोल किपर हुन् । उपाधी बिजेताले पाँच लाख ५१ हजार र उपबिजेताले भने दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ ।

Photo : GoalNepal

Comments