काठमाडौं । नेपाल आयल निगमले अबको केही दिनमै इन्धन सहज रुपमा पाइने दावी गरेको छ ।

भारतीय आयल कर्पोरेशन आइओसीले परिमाण बढाएर बिक्री गर्न थालेकाले पेट्रोल, डिजेल र ग्यास सहज हुन केही दिन मात्र लाग्ने निगमले दावी गरेको हो । निगमका प्रवक्ता मुकुन्द घिमिरेले अबको तीन दिनमा पेट्रोल लिन लाइन बस्नुनपर्ने, १० दिनमा डिजेल सहज रुपमा पाइने र २० दिनमा ग्यास सहज हुने अनुमान गरिएको बताउनुभयो । बजेट खर्च हुने बेला भएकाले अहिले विकास निर्माणको काम सुरु हुँदा डिजेलको माग बढेको प्रवक्ता घिमिरेले बताउनुभयो । तर पनि अहिलेकै अनुपातमा आयात भए १० दिनमा डिजेल सहज रुपमा उपलब्ध हुने उहाँको भनाई छ ।

निगमका अनुसार नाकाबन्दी अघि दैनिक रुपमा १६ सय किलोलिटर पेट्रोल, ३५ सय किलोलिटर डिजेल र ३० हजार मेट्रिकटन ग्यास आवश्यक हुन्थ्यो । अहिले यसको तुलनामा माग केही बढेको छ ।

लामो समय अभाव भएकाले अहिले समस्या देखिएको हो । तर भारतबाट अहिले ९० प्रतिशत इन्धन आयात भैरहेकाले केही दिनमै समस्या समाधान हुने निगमले जनाएको छ ।

Comments