–रिया भण्डारी ।

अस्पतालको आकस्मिक कक्ष अत्यन्तै गम्भीर र अकस्मात हुने स्वास्थ्य समस्याको लागि गरिएको व्यवस्था हो । तर कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा भने बिरामीले ३ देखि चार घण्टा समय कुर्नुपर्ने अवस्था छ ।

यसै त आफ्ना बालबच्चाहरु बिरामी परेर मानसिक तनावमा रहने विरामीका आफन्तहरु अस्पतालको लथालिङ्ग व्यवस्थापनका कारण आक्रोसित भएका छन् । राजधानीमै रहेको मुलुकको केन्द्रिय बालअस्पतालको आकस्मिक कक्षमा समेत बिरामीहरुले घन्टौ लाइनमा बस्नुपर्ने अवस्थाले नेपालको स्वास्थ्य सेवाको अवस्थालाई छर्लङ्ग पार्दछ ।

बिहीबार आफ्ना बालबालिकाको स्वास्थ्यमा बिभिन्न समस्या भएर कान्तिबाल अस्पतालको इमर्जेन्सीमा पुगेका अभिभावकहरु निकै छट्पटिमा देखिन्थे । बिभिन्न जिल्लाबाट आफ्नो बिरामी बालबालिका लिएर कान्तिबाल अस्पताल आएका यी अभिभाबकले अस्पतालको आकस्मिक कक्षको ढोका अगाडि घन्टौ समय कुर्नु परेको गुनासो गरे ।

कान्ति बाल अस्पतालमा सेवाग्राहीले उपचार सेवा भन्दा पनि सास्ती बढी भोग्न परेको तीतो परिदृश्य हो यो । कतिसम्म भने इमर्जेन्सीमा समेत राजधानी बाहिरबाट रिफर भएर आएका विरामीहरुलाई समेत अक्सिजन दिनुपर्ने स्थितिका विरामीहरुलाई समेत कुराउँदै आएको कान्ति बाल अस्पतालको यो रवैयाले नेपालको समग्र स्वास्थ्य क्षेत्रको अस्तव्यस्त व्यवस्थापनको प्रतिनिधित्व गर्दछ । राजधानीकै अस्पतालको इमर्जेन्सी कक्षमै यस्तो अवस्था भएपछि सरकारी अस्पतालमा बिरामीहरुले कस्तो स्वास्थ्य सेवाको अपेक्ष गर्ने ? धादिङदेखि बिरामी बच्चा लिएर बिहिबार कन्तिअस्पताल पुगेका यी अभिाभावको आक्रोश र पीडा मिश्रित प्रश्नको जवाफ अस्पताल प्रशासनले दिने कि स्वास्थ्य मन्त्रालयले ?

कान्ति वाल अस्पतालमा ३ सय बेड भएपनि हाल २ सय ७० वटा मात्र सञ्चालनमा छन् । जाडो सकिएर गर्मि सुरु भएसंगै बिरामीको चाप बढ्नु र अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी पर्याप्त नहुनु लगायतका कारणले छरितो सेवा दिन नसकिएको अस्पतालको स्वीकारोक्ति छ ।

अर्को उदेक लाग्दो कुरा त अधिकांश बिरामीहरुलाई विभिन्न बहानामा अन्तर्राष्ट्रिय बाल मैत्री अस्पताल र इशान बाल नर्सिङ होममा पठाइने गरिएको पाइयो । यसले कान्ति बाल अस्पतालले गर्दै आएको ढिलासुस्तीमा कतै नदेखिएका स्वार्थहरु लुकेर पो रहेका छन् कि भन्ने आशंका समेत जन्माएको छ ।

Comments

comments