मेलबर्न । भिक्टोरियन नेपाली समुदायबीच विगत ११ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको न्याभ कप क्रिकेट टुर्नामेन्टको हालै सम्पन्न ११ औं संस्करणको उपाधि दि हिमालयन क्लबले जित्यो । द हिमालयनको यो ह्याट्रिक उपाधि हो ।

यसरी लगातार तेस्रो पटकसम्म उपाधि जितेर द हिमालयनले ह्याट्रिक गर्नुमा सुनाम गौतमको योगदानलाई कम आँकलन गर्यो भने उनीमाथि मात्र होइन न्याभ कपकै प्रतिष्ठामाथि अन्याय हुन्छ । अझ यसपटक द हिमालयनलाई ह्याट्रिक उपाधि दिलाउँन सुनामको योगदान बढी रह्यो भन्दा शायदै कुनै अतिरञ्जित होला । त्यसैले त उनी यसपटक न्याभ कपमा म्यान अफ द सिरिज चुनिए । उनी एक्लैले म्याच अवधिभर कुल १० विकेट लिएर ५९४ रन बनाए । न्याभको अहिलेसम्मको इतिहासमा यति धेरै रन जोड्ने अरु कुनै खेलाडी निस्केका छैनन् । यसरी कीर्तिमानी स्कोर बनाएका सुनाम यसपटकको टुर्नामेन्टभरिमा तीन पटक म्यान अफ द म्याच चुनिएका थिए ।

फाइनल म्याचमा पनि म्यान अफ द म्याच चुनिएका उनले वेष्ट व्याट्स म्यान अफ द म्याचको उपाधि पनि जिते ।
काठमाडौंको जोरपाटीमा जन्मेका उनले आठ वर्षको उमेरदेखि नै क्रिकेट खेल्न थालेका थिए । उनी अहिले भिक्टोरियाको प्रिमियर लिग क्लबको ग्रिन भेल कङ्गारु क्लबमा समेत आवद्द छन् । यो प्रिमियर लिगमा खैलनु भनेको अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट क्लबभन्दा दुई स्तर मात्र तल हो ।

भिक्टोरियाको प्रिमियर लिग समेत खेल्दै आएका सुनामको हालसम्मको उच्च स्कोर ८२ रहेको छ । यसबीचमा उनले १० ओभर बलिङ गर्दा ३ मडेन दिएर ६ विकेट लिएर जम्मा १४ रन मात्र दिएका छन् । नेपालको राष्ट्रिय क्रिकेट टिमका लागि समेत छनौटमा परिसकेका उनी करिब चार वर्ष अघि मेलबर्न आएका हुन् । यता आउँनुपरेपछि उनले राष्ट्रिय टोलीबाट खेल्ने सपना भने त्याग्नुपर्यो । तर अझै नेपाली राष्ट्रिय टिमबाट खेल्ने आफ्नो धोको भने कायमै रहेको उनले बताए । यदि नेपाली टिमले पुनः आफूलाई अफर गरे आफू जुनसुकै बेला पनि जान तयार रहेको पनि उनले बताए ।

पछिल्लो समयमा अष्ट्रेलियाका नेपाली समुदायमा पनि क्रिकेटप्रतिको क्रेज बढ्दै गएकोप्रति उनले प्रसन्नता व्यक्त गरेका छन् । त्यसैले अष्ट्रेलियामा पनि आफू जस्ता खेल प्रतिभाहरुले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाएकोमा उनी प्रसन्न छन् । उनी भन्छन्–यहाँ अहिले यति राम्रा खेलाडीहरु छन् जो व्यवसासायिक रुपमै खेल्न समेत योग्य छन् ।

आफूले सबैको स्यावासी पाउँने गरी खेल्नसक्नुमा आफ्नो टिमको मिहिनेत र क्लबको व्यवस्थापन समितिको सपोर्टको ठूलो हात रहेको पनि सुनामले बताए । अन्त्यमा उनले आफ्नो क्लबको मूख्य प्रायोजक कँडेल कन्सल्टेन्सीलाई धन्यवाद दिन पनि विर्सेनन् ।

Comments

comments