काठमाडौं । बेलायती राजकुमार हृयारीको आसन्न नेपाल भ्रमण तालिका परिवर्तन भएको छ । उनी अब चैत ६ गते नै नेपाल आउने भएका छन् । अब उनको नेपाल भ्रमण ५ दिने हुनेछ ।

राजकुमार हृयारी पूर्व निर्धारित भ्रमण तालिका भन्दा एक दिन अघि नै नेपाल आउन लागेका हुन् । नेपालस्थित बेलायती दूताबासले चैत ६ देखि १० गते (मार्च १९-२३ तारिख) सम्म हुने हृयारीको नेपाल भ्रमण कार्यक्रमबारे जानकारी गराएको छ ।

दूताबासका अनुसार बेलायती राजकुमार ६ गते काठमाडौं आइपुग्ने छन् । त्यही साँझ उनी उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता पनि गर्नेछन् ।

२० गते उनले शीतल निवास पुगेर राष्ट्रपति विद्यार्थी भण्डारीलाई भेट्ने कार्यक्रम छ । त्यही दिन उनले भूकम्पले क्षति पुगेको पाटन दरबार स्वाक्वायरको अवलोकन गर्नेछन् ।

साथै नेपाल रेडक्रस सोसाइटीको आपतकालीन सहयोगबारे जानकारी लिन भक्तपुर जानेछन् । बेलायती राजकुमारले त्यहाँ भूकम्प प्रभावित परिवारको अस्थायी शिविरमा पनि जानेछन् ।

चैत २१ मा बेलायती राजकुमार बर्दिया राष्ट्रिय निकुञ्ज र नजिकैको बाँके राष्ट्रियमा जाने कार्यक्रम छ । यो एसियाकै सबैभन्दा ठूलो बाघ संरक्षण क्षेत्र हो । भ्रमणका क्रममा बेलायती राजकुमार हृयारीले खौराह नदीमा र्‍याफ्टिङ यात्रा गर्नेछन् भने नजिकै बसोबास गर्ने स्थानीयलाई भेट्नेछन् ।

बेलायती राजकुमार पोखरा पनि जानेछन्, जहाँ उनले ट्रेकिङ पनि गर्नेछन् । पोखरामा उनले भूकम्प प्रभावित गोर्खा सैनिकका परिवारलाई भेट्ने कार्यक्रम रहेको बेलायती दूताबासले जनाएको छ ।

नेपाल भ्रमणको अन्तिम दिन बेलायती राजकुमार हृयारीले राष्ट्रपतिसँगै नेपाल गल्र्स समिटको शुभारम्भ गर्नेछन् । त्यही दिन उनी भक्तपुरको सानोथिमी जानेछन् र सानेथिमी टेक्निकल स्कुलको अवलोकन गर्नेछन् । साथै कान्ति बाल अस्पतालको भ्रमण गर्नेेछन् ।

भ्रमणको अन्तिम कार्यक्रम भने उनको सम्मानमा बेलायती राजदूतले आयोजना गरेको रिसप्सन हुनेछ । त्यहाँ उनले सम्बोधन समेत गर्नेछन् ।

Comments

comments