एजेन्सी । आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा अफगानिस्तान र जिम्बाबेले विजयी सुरुवात गरेका छन् ।

पहिलो चरण अन्तर्गत मंगलबार बेलुका भारतको नागपुरमा भएको समूह ‘बी’ अन्तर्गतको खेलमा जिम्बाबेले हङकङलाई १४ रन तथा अफगानिस्तानले स्कटल्याण्डलाई पनि १४ रनले हरायो । पहिलो खेलमा जिम्बाबेले प्रस्तुत गरेको एक सय ५९ रनको लक्ष्य पछ्याएको हङकङले ६ विकेट गुमाएर एक सय ४४ रन मात्रै बनाउन सक्यो । उसका लागि जामिए एतकिनसनले ५३ तथा तनविर अफजलले नटआउट ३१ रन बनाएपनि हार टार्न सकेनन् ।

जिम्बाबेका डोनाल्ड टिरिपानो र टेनडाइ चतराले समान दुई दुई विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको जिम्बाबेले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ५८ रन बनायो । उसका वुसी सिबान्डाले ५९ तथा एल्टोन चिगुम्बुराले नटआउट ३० रन बनाए ।

हङकङका तनविर अफजल र एजाज खानले समान दुई दुई विकेट लिए । अर्को खेलमा अफगानिस्तानले प्रस्तुत गरेको एक सय ७१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले पाँच विकेटको क्षतिमा एक सय ५६ रन मात्रै बनायो । उसका लागि जर्ज मुनसेयले ४१, कायल कोट्जरले ४० तथा म्याट मचानले ३६ रन बनाए । अफगानिस्तानका रशिद खानले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय ७० रन बनायो । उसका लागि मोहम्मद शहजादले ६१ तथा अस्गर स्टानिकजाइले ५५ रन बनाए ।

भारतमा मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो चरणमा गएको वर्ष भएको छनौट प्रतियोगिताबाट छानिएका स्कटल्याण्ड, आइरल्याण्ड, हङकङ, नेदरल्याण्ड, अफगानिस्ता र ओमन तथा आइसिसीका दुई पूर्ण सदस्य बंगलादेश र जिम्बाबेले खेल्नेछन् । दुई समूहमा विभिजन गरिएका यी टोली मध्ये समूहको शीर्ष स्थानमा रहने दुई टिम दोस्रो चरण अर्थात सुपर टेनमा प्रवेश गर्ने छन् ।

पहिलो चरणको समूह ‘ए’ मा बंगलादेश, नेदरल्याण्ड, आइरल्याण्ड र ओमन तथा समूह ‘बी’ मा जिम्बाबे, स्कटल्याण्ड, हङकङ र अफगानिस्तान छन् । यी दुई समुहका विजेताले सुपर टेनमा आयोजक भारत, अस्ट्रेलिया, इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका तथा वेष्टइन्डिजसँग प्रतिस्पर्धा गर्ने छन् । दोस्रो चरणका खेल आउँदो चैत दुई गतेदेखि सुरु हुनेछ ।

Comments

comments