मेलबर्न । प्रवासी नेपाली मञ्च, अस्ट्रेलिया अन्तर्गत क्वीन्सल्याण्ड शाखाको अध्यक्षमा झवनाथ अर्याल सर्वसम्मत रुपमा चयन हुनुभएको छ । ।

ब्रिसबेनस्थित कलिंगा पार्कको हलमा सम्पन्न दोस्रो अधिवेशनबाट अर्यालको नेतृत्वमा मञ्चको क्वीन्सल्याण्ड शाखाको नयाँ नेतृत्व सर्वसम्मत रुपमा गठन गरिएको हो । नव गठित कार्यसमितिमा १३ सदस्य रहेका छन् ।

प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको आसन्न अधिवेशन पूर्व उक्त अधिवेशनको आयोजना गरिएको थियो । नेकपा एमालेका केन्द्रीय सदस्य डा विजय सुब्बाले उद्घाटन गर्नुभएको उक्त सम्मेलनमा विशेषगरी युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुब्बाले आफ्नो मन्तव्यमा अहिलेको कठिन परिस्थितिमा एमालेले राष्ट्र र राष्ट्रियताको खातिर निर्वाह गरेको नेतृत्वदायी भूमिकाको सराहना गर्दै अहिले एमाले सिंगो नेपाल राष्ट्र र राजनीतिक दलहरूको केन्द्रमा रहेको बताउँनुभयो । सुब्बाले परदेशमा रहेर कार्यव्यस्तताको वावजुत पनि यहाँका पार्टी समर्थकहरुले निशर्त पार्टीप्रति देखाउनुभएको सद्भाव र मायाले आफूलाई पार्टी गतिविधिमा लाग्न अझै प्रेरणा र नयाँ उर्जा मिलेको विचार व्यक्त गर्नुभयो ।

त्यस्तै अर्का अतिथि एमालेका महाधिवेशन प्रतिनिधि रमेश पाण्डेले एमाले समर्थक साथीहरुलाई क्रमिक रूपमा नेपाली समाजको हर गतिविधि र कार्यक्रममा आफ्नो अधिकतम सहभागिता जनाउदै त्यस मार्फत कम्युनिटीमा आफूलाई स्थापित गराउन सुझाव दिनुभयो ।

कार्यक्रममा अतिथिहरू रमेश पौडेल, केशव जोशी लगायतले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Comments

comments