काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी हुनुभएको छ । काँग्रेसको जारी १३ महाधिवेशन अन्तर्गत भएको दोस्रो चरणको मतदानमा प्रतिद्वन्द्वी रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा तेह्रौं राष्ट्रिय महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको हो ।

दोस्रो चरणमा सोमबार भएको मतदानमा देउवाले १८२२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्धन्दी पौडेलले भने १२९६ मत प्राप्त गर्नुभएको थियो । कुल खसेको ३ हजार १२० मत मध्ये २ मत बदर भएको थियो । दोस्रो चरणको निर्वाचनमा देउवाले भारी मत ल्याई काँग्रेसको आगामी नेतृत्व आफ्नो काँधमा लिनुभएको हो ।

यसअघि सभापतिका तीन उम्मेदवारमध्ये देउवाले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः मतदान भएको थियो । तेस्रो स्थानको मत पाएर सभापतिको रेसबाट कृष्णप्रसाद सिटौला बाहिरिएपछि देउवा र पौडेलबीचमा पुनः मतदान भएको हो ।

लगातार तीनपटक सभापतिको दौडमा रहनुभएका देउवाले लामो समयपछि संस्थापन पक्षबाट नेतृत्व उम्काउँनुभएको छ । यसअघि देउवा पोखरा महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग पराजित हुनु भएको थियो भने १२ औं महाधिवेशनमा पनि सुशील कोइरालासँग पराजित हुनुभएको थियो ।

देउवा सभापतिमा निर्वाचित भएको घोषणा भए लगत्तै सोमवार मध्यराति सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै देउवा निकटस्थ मानिनुहुने नेता बालकृष्ण खाँडले काँग्रेस अब सरकारमा जाने बताउँनुभयो । अहिलेको अपवित्र गठबन्धनको सरकारले मुलुकलाई निकास दिन नसकेको दाबी गर्दै नेता खाँणले संविधान कार्यान्वयन गराउँन पनि आफ्नो पार्टी सरकारमा जाने बताउँनुभयो ।

Comments