श्रीकृष्ण सिलवाल,मेलबर्न । २५ मार्च शुक्रवारदेखि शुरु हुने अष्ट्रेलियाव्यापी इन्टरस्टेट स्पोर्टस् मिटमा भिक्टोरिया राज्यले पनि सहभागीता जनाउँने भएको छ । विभिन्न राज्यमा छरिएर रहेका नेपाली समुदायलाई खेलको माध्यमबाट एकिकृत गराउँने उद्देश्यले आयोजना हुँदै आएको स्पोर्टस् मिटमा सहभागी बन्न यसपटक पनि भिक्टोरियाबाट झण्डै ६० जना खेलाडीहरु ब्रिस्बोन जाने भएका छन् ।

भिक्टोरियाबाट सहभागीता जनाउँने खेलाडी टोलीको संयोजन भिक्टोरियाली नेपाली समुदायका अग्रज व्यक्तित्व जोग लिम्बुले गर्दै हुनुहुन्छ । खेलकुदमा निकै रुची राख्नुहुने उहाँ आफैं पनि राम्रो गल्फ खेलाडी हुनुहुन्छ । उहाँ यसअघि आयोजित स्पोटर्सस मिटमा पनि भिक्टोरियन नेपाली टोलीको संयोजक हुनुहुन्थ्यो ।

झण्डै ६० जनाको जम्बो टोली लिएर ब्रिस्बोन जान पाउँने भएपछि उत्साहित हुँदै लिम्बुले भन्नुभयो–यति ठूलो टिम लिएर जानु पाउँदा म आफैं पनि एकदम उत्साहित भएको छु । अब हाम्रो एउटै उदेश्य कसरी भिक्टोरियामा धेरै भन्दा धेरै उपाधि ल्याउँने भन्नेमा केन्द्रीत रहनेछ ।

खेलकुदले हरेक व्यक्तिलाई तनावमुक्त पार्ने मात्र नभई शारीरिक रुपमा समेत फिट राख्ने भएकोले नेपाली युवाहरुलाई खेल क्षेत्रमा लाग्न उहाँको सुझाव छ । नेपाली समुदायको खेल क्षेत्रको विकासका लागि आफू सदैव प्रतिवद्द रहेको समेत लिम्बुले बताए ।

sports-meet

Comments