काठमाडौं । नेपाल आयल निगमले अबको दुई हप्ताभित्र इन्धन सहज हुने बताएको छ । पेट्रोलियम पदार्थको आयात बढ्दै गएकोले अबको दुई हप्ताभित्र इन्धन सहज हुने नेपाल आयाल निगमले जनाएको हो ।

केही दिन यता झण्डै ९० प्रतिशत पेट्रोलियम पदार्थ आयात भएको निगमको वितरण विभागका निर्देशक दीपक बरालले बताउनुभयो ।

उहाँका अनुसार यही परिमाणमा तेल आयात भए एक दुई हप्तामा नै वितरण सहज हुन्छ । तर आयातको परिमाण घटे वितरण फेरि प्रभावित हुनेछ । अहिले पेट्रोल र डिजेल लिन ईन्डियन आयल कर्पोरेशन आइओसी पुगेका सबै ट्याङरमा लोड हुने गरेको उहाँले बताउनुभयो ।

आइओसीले यसअघि विभिन्न बाहनामा ७० प्रतिशत मात्रै तेल लोड गरिदिने गरेको थियो । अहिले बजारमा दैनिक २० लाख लिटर तेलको माग भएकाले तत्काल सहज हुने अवस्था नरहेको निगमको भनाई छ ।

लोडसेडिङ तथा भूकम्पका कारण भत्किएका घर तथा भवनको पुनर्निर्माणसँगै उद्योगधन्दा पनि विस्तारै सञ्चालनमा आउन थालेकाले माग अत्याधिक छ ।

पेट्रोलियम पदार्थको अभावसँगै बढेको कालोबजारी रोक्न थालेको प्रयास प्रभावकारी भएको निगमको दाबी छ । निगमले हिजोदेखि बिहान सातबजे देखिनै उपभोक्तालाई तेल भर्ने व्यवस्था मिलाएको छ ।

Comments