काठमाडौं । महाशिवरात्रि पर्व आज आराध्यदेव भगवान शिवको पूजाआजा गरी मनाइँदै छ । यस अवसरमा  भगवान पशुपतिनाथ तथा मुलुकभरका शिवालय एवं महादेव मन्दिरमा भक्तश्रद्धालुहरुको भीड लागेकोे छ ।

फागुन कृष्णपक्षको चतुदर्शी तिथिमा मनाइने महाशिवरात्रि पर्वमा भगवान शंकर यस लोकमा आविर्भाव हुनुभएको शास्त्रमा उल्लेख छ । जगतकल्याणका प्रतीक भगवान शिवका भक्तहरुले महाशिवरात्रिमा शिवलिङमा बेलपत्र, रुद्राक्ष, श्रीखण्ड चन्दन चढाएर विशेषपूजाआजा गरी राति धुनी लगाउने गर्दछन् । विषौधिका समेत प्रणेता भगवान शिवलाई भाङ धतुरो जस्ता वनस्पति पनि चढाउने चलन छ । भगवान शिव उत्पन्न हुनुभएको यस रातलाई महाशिवरात्रिको रुपमा भजनकीर्तन गरी रातभर धुनी जगाई शिवसाधना गररे मनाउने परम्परा छ ।
महाशिवरात्रिको अवसरमा आज काठमाडौको श्रीपशुपतिनाथ मन्दिरमा विशेष मेला लागेको छ ।

शिवपुरी पर्वतबाट बगीआउने पवित्र वाग्मती नदीमा स्नान गरी देवाधि देव भगवान पशुपतिनाथको ज्योर्तिलिङमा पूजाअर्चना गर्नेको आज ठूलो भीड लागेको छ । मुलकका विभिन्न शैवक्षेत्र र भारतका साथै देशविदेशबाट भगवान पशुपतिनाथको दर्शन गर्न ठूलो संख्यामा साधुसन्त सन्यासीहरु पाशुपतक्षेत्रमा भेला भएका छन् । पाशुपतक्षेत्रमा लाग्ने मेलाहरुमा विशेष मेला मानिने यस पर्वमा शिवभक्त साधुसन्यासीको उपस्थितिले पशुपतिनाथक्षेत्र शोभायमान देखिएको छ । यसै गरी ज्ञानेश्वर,कोटेश्वर आदेश्वर, त्रिपुरेश्वर डोलेश्वर अनन्तलिङ्गेश्वर लगाएत उपत्यकाका महादेव मन्दिरहरुमा  पनि भक्तहरुको भीड लागेको छ ।

साथै पिण्डेश्वर महादेव,हलेसी महादेव कुशेश्वर महादेव, जलेश्वर महादे ईशानेश्वर महादेव गलेश्वर महादेव तथा वैद्यनाथ मन्दिर लगाएत देशका विभिन्न शिव मन्दिरहरुमा शिवरात्रि पर्व मनाउन भक्तजनको घुइँचो लागेको छ ।  महाशिवरात्रि पर्व आज घरघरमा पनि भगवान शिवको पूजाउपासना गरी धुनीबालेर विशेष उल्लासपूर्वक मनाइँदै छ । महाशिवरात्रि पर्वको अवसरमा आज मुलुकभर सार्वजनिक बिदा दिइएको छ ।

Comments

comments