काठमाडौं । ड्रिम्सको सफलतासँगै अनमोल केसीको स्टार क्रेज पनि ह्वात्तै बढेको छ । रिलिज भएको पहिलो दिन नै झण्डै ६५ लाखको विजनेश गराएर उनले आफ्ना पिता भुवनको खातामा समेत सफल निर्देशकको ट्याग लगाइदिएका छन् ।

‘ड्रिम्स’ शुक्रबारदेखि रिलिज भए पनि अनमोल शुक्रबार कतै निस्किएनन् । तर शनिबार भने बिहान साँढे १० मा गोपिकृष्ण र ३ बजे जय नेपालमा ‘अनमोल विथ अडियन्स’ नामक अनौपचारिक कार्यक्रम तय गरिएको थियो । तर, उक्त कार्यक्रममा सहभागी बन्न अनमोलका लागि कडा सुरक्षा घेराको आवश्यकता पर्यो ।

एकै छानामुनि ७ वटा फिल्म हल रहेको गोपिकृष्ण मुभिजमा शनिबार दर्शकको चाप अत्यधिक हुने हुँदा युवा पुस्तामा अत्यधिक रुचाइएका युवा अभिनेता अनमोल फ्यानबाट घेरिँदार तानातानमा पर्दाको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर चार जना बडिगार्ड खटिएका थिए । अनमोलको सुरक्षाकै लागि प्रहरीको भ्यानसमेत हलमा पुगेको थियो ।

अनमोल गोपिकृष्ण पुगेपछि दर्शकहरु ‘आइ लभ यु अनमोल’ भन्दै चिच्याएका थिए । धेरैजसो दर्शक उनीसँग फोटो खिच्ने अभिलाषामा थिए । बडिगार्डले उनलाई हुलबाट जोगाउँदै भित्र लगेपछि दर्शकले आफ्नो क्यामरामा अनमोललाई कैद गर्ने चाहना पुरा गर्न पाएनन् । त्यसपछि अनमोलले हलको माथिल्लो तल्लामा पुगेर फ्यानलाई हात हल्लाए, सेल्फी लिए र झुकेर अभिवादन गरे ।

नेपाली फिल्मक्षेत्रमा यति मजबुत सुरक्षा कार्गेट आवश्यक परेको अनमोल नयाँ पुस्ताका पहिलो र एक्ला अभिनेता हुन् ।
हलहरुमा दर्शकको अत्याधिक चाप देखिए पनि समीक्षकहरुले भने ड्रिम्सलाई कमजोर फिल्म भनेका छन् ।

Comments

comments