काठमाडौं । एकीकृत नेकपा माओवादी र नेकपा (क्रान्तिकारी माओवादी)बीच आगामी चैतको पहिलो साताभित्र एकताको विषय टुङ्ग्याउने सहमति भएको छ ।

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, माओवादी अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाबीच बिहीबार राति पार्टी एकताको विषयलाई धेरै नलम्ब्याउने सहमति भएको हो ।

माओवादी केन्द्रीय स्कुल ब्युरोले ललितपुरको कुपन्डोलमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम समापनमा शुक्रवार महासचिव थापाले कार्यकर्तालाई एककिृत माओवादीसँग एकताका विषयमा निर्णय गर्न केही दिनभित्रै केन्द्रीय समितिको बैठक बस्न लागेको जानकारी दिनुभयो । एकताको विषय उठेको दुई वर्ष पुग्न थालेको बताउँदै उहाँले सधैं यही कुरा दोहो¥याएर बस्नुभन्दा एकता हुने वा नहुने भन्ने चैतको पहिलो साताभित्र टुङ्ग्याउने गरी अगाडि बढेको जानकारी दिनुभयो ।

बिहीबार राति तीन नेताबीच दुवै पक्षले एकता विरोधी अभिव्यक्ति र कार्यशैली नअपनाउनेबारे सहमति भएको उहाँले बताउँनुभयो । माओवादी अध्यक्ष वैद्यले यही फागुन १४ गते प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै एकीकृत माओवादीसँग एकताको विषयमा कामभन्दा हल्ला धेरै भएको टिप्पणी गर्दै कसैलाई प्रधानमन्त्री बनाउन नभई क्रान्ति पूरा गर्ने सर्तमा मात्रै एकता हुने बताउँनुभएको थियो ।

सोही प्रशिक्षण कार्यक्रमको शुक्रवार समापन गर्दै महासचिव थापाले चैतको पहिलो हप्ताभित्र एकताको विषय टुङ्गिन लागेको बताएपछि माओवादी कार्यकर्ताबीच उत्सुकता छाएको छ । महासचिव थापाले एकताको विषयमा आफू र अध्यक्ष वैद्यबीच कुनै विवाद नरहेको बताउँनुभयो ।

Please follow and like us:

Comments