–मनोज पौडेल ।

नेपालीहरुमा खै चेतनाको विकास भएको भन्ने कि नभन्ने ? आफैमा बिरोधाभाषपूर्ण छ । चेतना आयो भनौ भने अहिले पनि त्यही पूराना बिचारधारा भएका मान्छे नै बढी भेटिन्छन् । आएको छैन भनौ भने अति नै आधुनिक भनौदाहरु देखिन्छन्,जताततै । के काम भनेको सानो र ठूलो पनि हुन्छ ? तिमी जुन काम गर्छौ त्यसमा तिमी खुसी छौ अनि सन्तुष्ट छौ भने गर्व गर कि तिमी स्वावलम्बी छौ । कामको बर्गीकरण केबल हामी यानिकी नेपालीले मात्र गर्छौ । काम गर्नु कुनै घृणीत हुन्न,हरेक कामलाई सम्मान गर्ने परिपाटीको बिकास जबसम्म नेपालीको मानसिकतामा बिकास हुन्न तब सम्म न तिम्रो बिकास हुन्छ न समाजको बिकास हुन्छ न देशको नै ।

हाम्रो समाज जुन त्यही रुढीबादी परम्परा र रहनसहनबाट ग्रस्त छ । जतिनै बुद्धिको बिकास भए पनि, जतिनै पढिलेखि बिद्वान भएपनि कामको बर्गीकरण गर्न न कहिले हामीले छोड्छौ, न यसको निराकरणनै गर्न सक्छौं । दमाई,कामी, पोडे र सार्की भनेर कामको बर्गीकरण गर्ने त्यो पूरानो समाजबाट गुज्रेका हामी आज पनि तैले गरेको काम सानो मैले गरेको ठूलो भनेर दोष थोपार्छौ । मलाई लागेको कुरा त्यही दमाईको थुकले धागो भिजाएर बनाएको लुगा लगाएर जाने सकीला महानुभाव जो भ्रष्टचार गरेर गरीब जनताको कर चुसेर महल बनाउँछन,त्यो चाँहि ठूला मान्यगन्य । अनि त्यो बिचारा आफ्नो पसिनामा डुवुल्की मार्दै अहोरात्र आफ्नो जहानपरिवार पाल्न तल्लीन उपल्लो बर्गले होच्याएर दमाई नाम दिएका चाहिँ सानो । यो त भयो परापूर्ब कालदेखि सुन्दै आएको अनि आँखाले भोगेको तितो यथार्थ ।

अब कुरा गरौ हामी जो शिक्षित वर्गमा पर्छौ क्यारे । पक्कै पनि हामीमध्ये धरैसँग १२ पासको प्रमाण पत्र छ नै होला । त्यो नि नभए बिदेश कसरी आईयो र भन्ने प्रश्न पनि उठ्ला । अनि त्यही ढोङ्गी समाजबाट आज आएर यो २१ औं शताब्दीमा पनि कामको बर्गीकरण गर्दै हिड्छौ भने के भन्नु हुन्छ तपाईले आफूले आफैंलाई ? पढेलेखेका शिक्षित बर्ग कि अर्थोक नै कुनै ? प्रश्न जटिल छ । सोच्नुस् त तपाई बस्नुभएको देशमा के कामको बर्गीकरण छ ? के कसैले कसैलाई तेरो काम यस्तो अनि मेरो काम उस्तो भनेको कहिल्यै सुन्नु भएको छ ? अनि केको फुटानी लाउनुहुन्छ कामको नाममा आफ्ना साथीलाई होच्याएर ? तपाई यस्तो देशमा हुनुहुन्छ जहाँ डाक्टर र मेनेजरले भन्दा बढी धारा बनाउने ज्यामीले कमाउँछ । अनि कुनै कम्पनीको कार्यकारीणीले भन्दा खानीमा काम गर्ने कामदारको कमाइ बढी हुन्छ । अनि तपाई भन्नु हुन्छ तिमीले गर्ने काम ए ! त्यो पो हो भनेर । धिक्कार छ विकास र समृद्धिको देशमा आएर पनि तपाईको सोच र मानसिकतामा परिवर्तनआउँदैन भने ।

एउटा भाइले विदेसी भाषामा भन्नुपर्दा किचन् हेन्ड, ठेट नेपाली भाषामा भन्नुपर्दा भाँडा माझ्छ एउटा रेस्टुरेन्टमा । अनि त्यहीबाट कमाएको पैसाले नेपालमा घर किन्छ, कलेजको फि तिर्छ, बा आमालाई सुखका साथ पालेको छ अनि पढाई सकेर पिआर हाल्छ । अनि यहाँ पनि उसैले घर किन्छ । के अब उसलाई होच्याएर भाँडा माझेर फलानोले यति धेरै प्रगति गर्यो भन्दै हिड्ने कि उसको मिहिनेत र लगनशीलताको तारिफ गर्ने ? तर यहाँ त उसको खिल्ली उडाईन्छ अनि उसको पछाडि हजार कुरा काटिन्छ । केही हो त देश विदेश पुगेर हामीले हासिल गरेको चेतना ?

अर्काै यस्ता साथीहरु पनि भेट्टिन्छन् जो भन्दै हिड्छन्– “जे पढे नि त्यस्तै हो“ काम पाउने त्यही हो । अफिस सरसफाई, हाउसकिपीङ अग्रमबग्रम । के यी काम चाहिँ काम हैनन् ?

वास्तावमा काम भनेको सिर्फ काम हो । ठूलो र सानो कामको बर्गीकरण हामी भित्रको अविवेकले गर्ने हो । यहाँ भन्न खोजिएको के हो भने यदि तपाई दक्ष हुनुहुन्छ भने तपाईले आफू सुहाउँदो काम अवश्य पाउँनुहुन्छ । तर जब तपाई काम गर्नुुहुन्छ भने सिर्फ त्यसलाई काम ठानेर गर्नुहोला । अनि बल्ल त्यसमा सानो ठूलो भन्ने कुरा आउँदैन । त्यसैले तपाईलाई सन्तुष्टि समेत दिन्छ । अनि तपाई सफल र दक्ष मानिनु हुन्छ । अनि एउटा गाँठी कुरा काम गर्ने मान्छे कहिल्यै सानो हुन्नन् बरु काम भएर पनि सानो वा ठूलोको निहूँमा त्यसलाई लत्याउँनेहरु पटमूर्ख कहलिन्छन् र तिनीहरु नै जिन्दगीमा प्रायः असफल हुने गरेका छन् ।

Comments