गोरखा । भूकम्प प्रभावित उत्तरी गोरखाका विभिन्न गाविसमा झाडाबान्ता, ज्वरो, रगतमासी, रुघाखोकीजस्ता रोगको प्रकोप फैलिएको छ ।

उहिया, केरौँजा र सामा गाविस भित्र शिविरमा बसोबास गर्दै आएका भूकम्प प्रभावित रोगले थलिएका छन् ।

भूकम्पका बेला भत्किएका स्वास्थ्यचौकी मर्मत नहुँदा टेन्टभित्र सञ्चालित स्वास्थ्य संस्थामा उपचार गराउँन बाध्य भएका छन् । टेन्टभित्र सञ्चालित स्वास्थ्य संस्थामा पनि औषधिको अभाव हुनुका साथै पर्याप्त स्वास्थ्यकर्मी नहुँदा भूकम्पपीडितले समयमै उपचार सेवा पाउँन सकेका छैनन् । अहेव र अनमीको भरमा भूकम्पपीडित बिरामीको उपचार सुरु गरिए पनि घरैपिच्छे बिरामी भएकाले प्रकोप नियन्त्रणमा ल्याउँन कठिन भएको छ ।

मौसममा आएको परिवर्तन,अस्थायी शिविरमा बस्दा पिउने पानीको अभाव, अशुद्ध पानी पिउनु, चारैतिर खुल्ला रहेको शिविरमा चिसो स्याँठको सामना गर्नुपर्दा एकपछि अर्को गर्दै भूकम्पपीडित बिरामी परेका हुन् । सामागाउँमा ३० जना बालबालिकासहित ५० जनाभन्दा बढी घरमूली विगत १५ दिनदेखि बिरामी परेका छन् ।

स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र क्यान नेपाल नामक संस्थाका अनमीले बिरामीको उपचार गरिरहेका छन् ।

Comments