काठमाडौं । ट्राफिक प्रहरीले जानी जानी गल्ति गर्ने चालकलाई ट्राफिक स्वंयम सेवकको रुपमा काम गराउने अभियान थालेको छ ।

पहिलो चरणमा सवारी दुर्घटना गरी फरार भएका र सवारी साधनमा छुटेको सामान नबुझाएका चालकलाई यस्तो कारबाही गर्न थालिएकोे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका प्रवक्ता एसपी लोकेन्द्र मल्लका अनुसार अहिलेसम्म तीन जनालाई कारबाही गरिएको छ । चालकको सानो गल्तिले अरुलाई परेको असर बारे जानकारी गराउन स्वंयमसेवकको रुपमा खटाइने उहाँले बताउनुभयो । गल्तीका आधारमा कम्तिमा ५ दिनदेखि १० दिनसम्म स्वयमसेवकको रुपमा खटाइनेछ ।

अभियानको पहिलो दिन सोमबार सवारी दुर्घटना गराई फरार भएका दाङ्ग लालमटियाका २५ वर्षका तिर्थ कुमार चौधरीलाई ट्राफिक स्वंयम सेवकको रुपमा काम गराइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

त्यस्तै अर्का चालक काभ्रे पुरानोगाँउका २३ वर्षका बिनोद सार्कीलाइ ट्याक्सीमा छुटेको सामान नदिएकाले स्वयमसेवकको रुपमा खटाइएको हो ।

चौधरी र सार्कीलाइ सिंहदरबार चोकमा १० दिन सम्म ट्राफिक स्वयम सेवकको रुपमा खटाइएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उनीहरुले गरेका गल्तीलाइ प्रयाश्चितको रुपमा स्वयमसेवा गर्न महाशाखाले निर्देशन दिएको छ ।

Comments

comments