– रिया भण्डारी ।

मौसम परिवर्तन हुने समयमा धेरैजसोलाई सामान्य रुघाखोकीको संक्रमण हुनु स्वाभाविक नै मानिन्छ । र, रुघाखोकी सातआठ दिनमा निको पनि हुन्छ र ज्वरो पनि बढी आउने हुँदैन । तर रुघाखोकीसंगै कडा ज्वरो आए सावधान हुन् जरुरी छ । अहिले काठमाडौं लगायत देशैभर इन्फ्लुएन्जा ए भनिने एच ३ एन २ अर्थात हङकङ फ्लुको संक्रमण देखिएको र संक्रमितमा कडा ज्वरो र खोकीसँगै जटिलता पाइएकोले सबैलाई सचेत हुन चिकित्सकहरुको सुझाब छ ।

राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा दैनिक २५ देखि ३० नयाँ बिरामी भेटिन थालेका छन् । फागुन यता करिब ९ जनालाई भर्ना नै गर्नुपरेको अस्पतालले जनाएको छ । अन्य अस्पतालका ओपिडी तथा आइसियुमा पनि ठूलो संख्यामा हङकङ फ्लुका बिरामी हुन सक्ने अनुमान चिकित्सकहरुको छ । सन् १९६८ देखि फैलिएको इन्फलुएन्जा–ए (एच३एन२) भाइरसको प्रकोपले कम्तीमा १० लाख व्यक्तिको मृत्यु भएको थियो । यो रुघाखोकी हङकङबाट सुरु भएकोले यसलाई बोलचालमा हङकङ फ्लु भनिएको हो । हाल यसविरुद्घ रोग प्रतिरोधक क्षमता विकसित भइसकेकाले यो त्यति खतरनाक मानिँदैन । रुघाखोकी सामान्य घरेलु प्रक्रियाले निको नभए, १०२ डिग्रीभन्दा बढी ज्वरो आए, जीउ काम्नु, टाउको फुट्ने गरी दुख्न खोज्नु, घाँटी बांगिनु, वाक्वाकी लाग्नु, सास फेर्न असजिलो हुनु, छाती दुख्नुजस्ता समस्या देखिए हङकङ फ्लु भएको हुन सक्ने र बालबालिका र वृद्धवृद्धामा यो फ्लु अझ घातक हुने भएकाले बेलैमा सचेत हुनुपर्ने सेन्ट्रल डिपार्टमेन्ट अफ बायो टेक्नोलोजीका भाइरोलोजिस्ट बिरेन्द्रप्रसाद गुप्ता बताउनुहुन्छ ।

इपिडिमीयोलोजी महाशाखाले पनि अहिले हङकङ फ्लु मुलुकभरि नै फैलेकोले सचेत हुनुपर्ने जनाएको छ । यो मौसममा हङकङ फ्लुसँगै अन्य भाइरसबाट पनि जोगिन चिकित्सक आग्रह गर्छन् । यसका लागि भिडभाडमा नजाने, प्रशस्त झोलिला खाने कुरा खाने, संक्रमितले प्रयोग गरेको रुमाल, भाँडा अरूले प्रयोग नगर्ने, संक्रमितसँग कम्तीमा एक मिटर परै बस्ने, हात नमिलाउनेजस्ता उपाय अपनाउन उनीहरूको सुझाव छ । यस्ता भाइरस खोकी तथा हाच्छिउँ गर्दा सर्ने भएकाले यी प्रक्रियाबाट जोगिनुपर्छ । सुरुमा व्यक्तिको माथिल्लो श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने हङकङ फ्लुलाई बेवास्ता गरे यो बिस्तारै भित्री श्वासप्रश्वास प्रणालीमा पनि संक्रमण हुन्छ । त्यसपछिको अवस्थामा आइसियु र भेन्टिलेटरमै राखेर उपचार गराउनुपर्ने हुन्छ ।

अन्य भाइरसले रोग प्रतिरोधी क्षमता कमजोर भएका र दीर्घरोगीलाई बढी असर गर्छन् तर हङकङ फ्लुले भने युवक र अन्य स्वास्थ्यसमस्या नभएकालाई पनि गम्भीर असर गरिरहेकोले पनि गम्भीर बन्न आवश्यक छ ।

Comments

comments