काठमाडौँ । ग्यास उद्योगीले पूरा ग्यास भरिएको सिलिण्डर बिक्री गर्न थालेका छन् । ग्यास आयात बढेपछि उद्योगीले पूरा ग्यास भरिएको सिलिण्डर बिक्री गर्न थालेका हुन् ।

ग्यास बिक्रेता महासङ्घका कोषाध्यक्ष अर्जुन खत्रीका अनुसार अहिले नेपाल, सुगम, एभरेष्ट, ओम, एचपी, त्रिशुल, सिदार्थ लगायतका ग्यास पूरा सिलिण्डर बेच्न थालिएको छ । अरु ग्यास पनि अबको केहि दिनमै भरी आउने उहाँले बताउनुभयो ।

अहिले ग्यास उद्योगीले नै डिपोसम्म पुर्याइदिने गरेकाले एउटा भरी ग्यासको १४ सय रुपैयाँभन्दा धेरै नतिर्न उहाँको आग्रह छ । यसअघि आधा ग्यास भरिएको सिलिण्डर उद्योगीले डिपोसम्म नपुर्याउँदा सरकारले ७ सय रुपैयाँ तोकेपनि बिक्रेताले बढी मूल्य लिने गरेका थिए ।

नाकाबन्दीपछि साना डिपोले थोरै मात्र ग्यास पाउने गरेकामा अहिले एकपल्टमा कम्तिमा पनि ७० वटा ग्यास सिलिण्डर पाउने गरेका ग्यास बिक्रेता महासङ्घका कोषाध्यक्ष खत्रीले जानकारी दिनुभयो । आयात बढेकाले विस्तारै सहज रुपमा ग्यास पाइने भएकाले नआत्तिन उहाँको आग्रह छ ।

यसअघि ग्यास लिन कम्तिमा दुई महिना लाग्ने भएपनि अब एकहप्तादेखि १५ दिनसम्ममा उपभोक्ताले ग्यास पाउने उहाँले दाबी गर्नुभयो ।

Please follow and like us:

Comments