एजेन्सी । विश्व फुटबल महासंघ फिफाको नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदैछ । नयाँ नेतृन्व चयनका लागि स्वीटजरल्याण्डको ज्युरिचमा विशेष साधारणसभा हुँदैछ । फिफाको अध्यक्षका लागि पाँच जना प्रतिष्पर्धामा उत्रेका छन् ।

एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान बिन ईब्राहिम अल खालिफा, जोर्डनका राजकुमार अली बिन अल हुसैन, युएफाका महासचिव जियानी ईन्फान्टिनो, फ्रान्सका जेरोमी स्याम्पेन र दक्षिण अफ्रिकाका टोक्यो सेक्सवेल चुनावी दौडमा छन् । यीमध्ये एएफसी अध्यक्ष शेख सलमान र युएफा महासचिव जियानी ईन्फान्टिनोलाई बलियो दाबेदारका रुपमा हेरिएको छ । चुनावमा फिफामा आवद्ध २०७ राष्ट्रले मतदान गर्न पाउने व्यवस्था छ ।

पहिलो चरणको निर्वाचनमा कुनैपनि उम्मेदवारले बहुमत ल्याउन नसके शीर्ष दुई उम्मेदवारबीच दोस्रो चरणको चुनाव हुने व्यवस्था छ । अध्यक्षमा चुनिन उम्मेदवारले कम्तीमा १०४ मत ल्याउनुपर्ने हुन्छ । भ्रष्टाचारको आरोपमा मुछिएका फिफाका अध्यक्ष सेप ब्लाटरले पदत्यागको घोषणा गरेपछि चुनाव हुन लागेको हो । ७९ वर्षिय सेप ब्लाटर, सन् १९९८ देखि फिफाको अध्यक्ष पदमा थिए ।

Comments

comments