काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित १४ जिल्लालाई हेर्ने गरी विभिन्न ६ जिल्लामा उपक्षेत्रीय कार्यालय स्थापना गर्ने भएको छ ।

प्राधिकरणको काम कारवाहीलाई प्रभावकारी र गतिशील बनाउँन उपक्षेत्रीय कार्यालयहरु स्थापना गर्न लागिएको हो । पुर्नरनिर्माण प्राधिकरणका सीइओ सुशील ज्ञवालीले बिहीबार व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिमा प्राधिकरणको उपक्षेत्रीय कार्यालय खोल्ने ठाउँका बारेमा जानकारी दिनुभएको हो । मुख्य कार्यालय सिंहदरवारमा रहेको प्राधिकरणले काठमाण्डौ, ललितपुर, काभ्रे, दोलखा,नुवाकोट र गोरखामा नयाँ उपक्षेत्रीय कार्यालयहरु स्थापना गर्न लागेको हो । भूकम्पबाट अति प्रभावित १४ जिल्लाबाहेक अन्य १७ जिल्लामा पनि थप आवश्यक देखिएमा कार्यालय स्थापना गर्न सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।

ज्ञवालीका अनुसार काठमाडौं र भक्तपुर हेर्नेगरी काठमाडौंमा उपक्षेत्रीय कार्यालयको स्थापना हुनेछ भने ललितपुर उपक्षेत्रीय कार्यालयले ललितपुर र मकवानपुर हेर्ने छ । यस्तै गोर्खा उपक्षेत्रीय कार्यालयले गोर्खा र धादिङलाई हेर्नेछ भने नुवाकोटमा स्थापना गरिने उपक्षेत्रीय कार्यालयले नुवाकोट र रसुवाको पुनर्निर्माणलाई हेर्नेछ । उता काभ्रेको धुलिखेलमा स्थापना गरिने कार्यालयको कार्यक्षेत्र काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली रहनेछ भने दोलखामा रहने उपक्षेत्रीय कर्यालयले दोलखा, रामेछाप र ओखलढुुङ्गा हेर्ने ज्ञवालीले वताउनुभयो ।

उपक्षेत्रीय कार्यालय स्थापना भएसँगै पुर्ननिर्माणको कामले थप गति लिने प्रमुख कार्यकारी अधिकृत ज्ञवलीले जानकारी दिनुभयो ।

Comments