काठमाडौँ । १३ औँ महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुनेछ।

यसअघि मंगलबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टीको नीति तथा कार्यक्रमका विषयमा छलफल भएको थियो। विधान संशोधनका विषयमा छलफल हुने भनिएपनि विधान समितिका संयोजक अनुपस्थित भएपछि छलफल अघि बढेको थिएन।

आजको बैठकमा पनि विधान परिमार्जनका विषयमा छलफल हुने सम्भावना कम रहेको नेताहरुले बताएका छन्। संस्थापन पक्षले पदाधिकारी थपेर केन्द्रीय समितिको आकार बढाउने तयारी गरेपनि देउवा पक्षले त्यसको विरोध गर्दै आएको छ।

देउवा पक्षले गुट व्यवस्थापनका नाममा पदाधिकारीको संख्या बढाउन नसकिने बताउँदै आएको छ। विधान समितिले प्रादेशीक संरचना अनुरुपमा पार्टीलाई लैजानु पर्ने भन्दै केन्द्रीय समितिको आकारलाई बढाएर ९७ सदस्यीय पुर्याउने प्रस्ताव गरेको छ। कांग्रेसको हाल ८५ सदस्यीय समिति छ ।

Comments