मेलबर्न । अष्ट्रेलियाको चर्चित डिक स्मीथ स्टोर कम्पनी बन्द हुने भएको छ । लामो समयदेखि स्वामित्व हस्तान्तरण अथवा बेच्ने प्रयास गरिए पनि असफल भएपछि कम्पनीले अन्ततः बन्द गर्ने निर्णय गरेको कम्पनीका प्रवक्ताले विहीवार अपरान्ह बताए ।

कम्पनी बन्द भएसँगै कम्पनीमा कार्यरत करिब ३ हजार कर्मचारीहरुको भविष्य पनि अन्यौलमा परेको छ । डिक स्मीथ स्टोर्सको अष्ट्रेलियामा ३०१ र न्यूजिल्याण्डमा ६२ आउटलेटहरु रहेका छन् । उपयुक्र्त लगानीकर्ता नपाएपछि कम्पनी बन्द गर्ने निर्णयमा पुगेको जनाउँदै कम्पनीका तर्फबाट फेरियर हड्गसनले आगामी ८ हप्ताभित्र कम्पनी बन्द गरिने घोषणा गरे ।

गत महिना नै कम्पनी टाट पल्टेको घोषणा गर्दै विक्रीमा राखिएको थियो । तर यसबीचमा थुप्रै इच्छुकहरु कम्पनी किन्न आए पनि ती कुनै उपयुक्र्त नरहेको डिक स्मीथले ठहर गरेको हो ।

कम्पनी बन्द गर्नु अघि कर्मचारीहरुका बाँकी सबै हिसावकिताव भने चुक्ता गरिने कम्पनीले प्रष्ट पारेको छ । साथै उसले कम्पनीप्रति वफादार रही सेवामा संलग्न सम्पूर्ण कर्मचारीहरुप्रति आभार पनि व्यक्त गरेको छ ।

Comments

comments