मेलबर्न । अष्ट्रेलियामा आयोजना हुने पाको फेष्टिबलमा यस वर्ष पनि नेपाली समुदायको समेत सहभागीता रहने भएको छ ।

नेपाललाई विश्व माझ चिनाउँने उपयुक्र्त माध्यमको रुपमा रहने पाको फेष्टिबलमा नेपाललाई प्रोमोट गर्ने उदेश्यले नेपाली समुदायले सहभागीता जनाउँन लागिएको हो । यही २७ फेब्रुअरीमा पार्किङटन स्ट्रीट,जीलङ वेष्टमा हुन लागेको फेष्टिबलमा सहभागी भई नेपाललाई प्रोमोट गर्ने कार्यमा हातेमालो गर्न सम्पूर्ण नेपाली समुदायलाई अपिल गरिएको छ । यसपटक नेपाली समुदायको अर्डर नम्बर १२ रहेको छ । यो फेष्टिबलमा लाखौं जनाको सहभागीता रहने भएकोले पार्किङ लगायतका सुविधामा समस्या हुन सक्ने भएकोले समयमै उपस्थित हुन पनि सुझाव दिइएको छ । नेपाली समुदायलाई त्यस दिन विहान १०.१५ बजेभित्र नेपाली झण्डा,व्यानर र नेपाली संस्कृति झल्किने भेषभूषामा उपस्थित भैसक्न अनुरोध गरिएको छ ।

पाको फेष्टिबलको ४० औं संस्करणमा यसपटक पनि बहुसांस्कृतिक सन्दर्भ तथा नागरिकतामन्त्री रविन स्कट लगायतको समेत उपस्थिति रहने छ ।

फेष्टिबलको समापन समारोहमा नेपालका भूकम्प पीडितहरुको सहयोगमा स्वयम्सेवी सहयोग गर्नेहरुलाई प्रमाणपत्र प्रदान गर्नुको साथै नेपालका विभिन्न विद्यालयहरुलाई सहयोग हस्तान्तरण गर्ने कार्यक्रम समेत तय भएको छ । सोही अवसरमा मिस टिबेट अष्ट्रेलियालाई लुम्बिनी कपिलवस्तु दिवस अभियानको सन्दर्भमा फ्रेण्डस् अफ नेपालको दूतका रुपमा घोषणा गरिनेछ । उनी सातौं फ्रेण्डस् अफ नेपाल हुनेछिन् ।

कार्यक्रमको अन्त्यमा तीन वटा आकर्षक नेपाली नृत्यको प्रस्तुति रहनेछ ।

Comments

comments