–मनोज पौडेल ।

म यो पैसाको भुमरीमा यसरी फसेकी न यसको जञ्जालबाट उम्किन सक्छु न सँधैभरि यसको लागि पसिना चुहाउन सक्छु ।म भित्र यति धेरै असीमित ईच्छा, आकांक्षा र उदेश्यहरु छन् कि हरबखत,हरदम ती बस्तुहरु परिपूर्ति गर्नमै जिन्दगीका अमूल्य समयहरु खर्च हुन्छन् । एउटालाई जसोतसो पूरा गर्छु,अर्को ईच्छा प्रकट भैहाल्छ । यो शायद मानवीय स्वभाव नै हो । खैर जे भनेपनि यो एउटा माखे साङ्लो हो जून कहिल्यै कसैलाई केही गरेर पनि परिपूर्ण हुदैन र निरन्तर यसको जालो भित्र फसिरहन्छ।

शुरु गर्छु कहिले देखि पैसाको भुत दिमागमा आउँछ भनेर । बाउ आमाको बुई चढूँन्जेल त्यति पैसाको महत्व बुझिदैन र बुझ्ने कोशीस पनि गरिन्न । जब हामी आफै कमाउन थाल्छांै या भनांै आफ्नो पसिनाको मूल्य जब हातमा पर्छ अनि हामी भित्र जन्म हुन्छ लोभ लालच र असीमित महत्वकांक्ष जसको पछि पछि भागदौड गर्दा गर्दै समयले उकालो काटेको पत्तै पाउँदैन ।
कुरा जहाँको गरेनि उहि हो,स्वदेश वा बिदेश । तर यहाँ कुरा गर्न खोजिएको बिदेश जाने बिद्यार्थी जीवनको । दुई पृष्ठभुमी भएका बिद्यार्थी हुन्छन् । हुन त मैले यहाँ कुनै बर्गीकरण गर्न खोजेको होईन । एक हुन्छौं मध्यम बर्गीय अनि अर्को हुने खाने बर्गीय । हुने खानेलाई त त्यति कसरत गर्नु नपर्ला पैसाको जोहो गर्न तर मध्यम बर्गीयलाई फलामको चिउरा चपाउनु सरह हुन जान्छ । जसरि हुन्छ ऋृणपान गरेर होस या आफ्नो सम्पती धितो राखेर उ उड्छ सुनौलो सपनाको आकाशमा अनि फस्छ उ यस्तो जालोमा कि त्यहाँबाट उम्कन उसलाई हम्मे हम्मे पर्छ ।

मान्छे यसरी फस्छ कि यो पैसाको जन्झिरमा न भोक न तिर्खा आफूलाई सहज बनाउन हर दम हात र खुट्टा घोटी रहन्छ । बस्ने ठाउँ देखि कलेजको फि तिर्नमा ऊ यति ब्यस्त हुन्छ कि काम कलेज अनि कामले उसको जिन्दगीको केही महत्वपूर्ण कालखण्ड कटेको पत्तै पाउँदैन । दशैं आउँछ,घरबाट फोन आउँछ अनि गहभरि आँसु पारेर बाबा यो साल अलि मिलेन अर्को बर्ष अलि बन्दोबस्ती मिलाएर आउँछु । अनि तिहार आउँछ चेलीबेटीलाई सम्झाएर अर्को बर्ष खुब रमाईलो गर्नुपर्छ,देउसीपनि रात भरी खेलौला । पिर चिन्ता नलिकन बा आमाको रेखदेख गरेर बसेस भन्दै बित्छ । तर त्यो बर्ष कहिले आउँदैन किनकी समय र जिन्दगीको तारतम्य कहिल्यै नमिलेर होला शायद वा आफूलाई सहज वातावरण कहिले मिल्ला त्यसको प्रतिक्षामा घोटिदाँ घोटिदाँ समयले नेटो काटेको पत्तै नपाएर होला ।

जसो तसो कनिकुथी कलेज सक्छ अनि पहिला किनेको सस्तो गाडी मन पर्न छोड्छ । त्यसपछि हुनेले पैसा दिएर वा नहुनेले फाईनान्सबाट भए पनि अलि महङ्गो गाडी किन्न पर्यो । घरवाट बिहेको कुरो चल्छ । बिहे गरे आफूलाई सजिलो हुने बुझेर फेरी बिहेको लागि पैसा जोहो गर्यो । घर आउँदैनस् भनेर फोन आउँछ तर अव अलिकति बनाएर आउँछु भन्यो तर कहिले त्यो अलिकति बनाउने दिन आउँदैन । किनकी कलेजको फिको लागि मागेको उधारो तिर्दैमा ठिक्क हुन्छ केहि महिनाहरु । यसरी पैसाको दलदलमा झन फसिदै गइन्छ विदेशी जिन्दगी । अझ प्रेमी वा प्रेमीका बाहिर छन् भने दुई तिर दुवै घर र उता मिलाउँदैमा कति समय वित्यो, पत्तै हुँदैन ।

आफ्ना ईच्छा झन् बढ्दै जान्छन् । झन कलेज सकेपछि साथीहरुले अव त कलेज छैन राखेको होलास नि ! ले न अलि कति सापटी भन्न थाल्छन् । पहिला उसले पनि सहयोग गरेकाले दिनै पर्यो । लेनदेनको जालझेलमा फसेका हामी त्यहाँबाट उन्मुक्त हुन धेरै कठिनाईका बाटाहरु सामना गर्नु पर्छ ।

झन पिआर पाएपछि त यति नमज्जाले फस्छौ कि महङ्गा घरको धितो तिर्दा तिर्दै आधी जीवन सकिसकेको हुन्छ । अनि बुढेसकालको साहारा न छोरा छोरी नै हुन्छन् किन कि तीनमा पनि बिदेशी सँस्कृति हाबी भईसकेको हुन्छ । जीवनभरि पैसा र सम्पत्तिकै लागि दौडिदा दौडिदा कतिखेर बूढ्यौलीले छोपिसकेको हुन्छ,पत्तै पाउँदैन । जब थला परेर वृद्धाश्रमको बास भइन्छ,तब न सकिन्छ गरि खान न सकिन्छ मरि जान भन्दै पुर्पुरोमा हात हालेर बस्न बाहेक अर्को बिकल्प केही हुन्न ।

Comments

comments