काठमाडौं । विश्वबजारमा अमेरिकी डलरको मूल्य आकाशिदै गएपछि नेपाली रुपैयाँ अमेरिकी डलरसँग अहिलेसम्मकै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको सटहीदर एक सय १० रुपैयाँ चार पैसा तोकेको थियो जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो । आइतबारको तुलनामा सोमवार २० पैसा बढेको हो ।

यसअघि फागुन ७ गते डलरको भाउ एक सय ९ रुपैयाँ ९६ पैसा पुगेको थियो । राष्ट्र बैंकले एक सय १० रुपैयाँ चार पैसा तोकेपनि बजारमा भने डलरको कारोबार एक सय १० रुपैयाँ ५० पैसासम्ममा भइरहेको छ । खुलाबजारमा बाणिज्य बैंकले विदेशी मुद्राको कारोबार गर्न आफ्नै दर तोक्न पाउने व्यवस्था छ ।

नेपाली रुपैयाँ डलरसँग कमजोर हुनुको कारण नेपालको अर्थतन्त्र भने होइन ।

भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमयदरका कारण भारु कमजोर भएकाले नेपाली रुपैयाँ पनि कमजोर भएको हो ।

डलरको मूल्य बढी हुँदा विदेशमा काम गर्ने नेपालीलाई रेमिट्यान्स पठाउँदा फाइदा हुन्छ भने निर्यातकर्तालाई पनि मुनाफा नै हुन्छ । तर डलर तिरेर विदेशबाट आयात गर्ने सामानको मूल्य भने बढी तिर्नु पर्छ ।

Comments

comments