नयाँ दिल्ली । आन्दोलनकारीले मुहान काटेर पानीको नाकाबन्दी लगाएपछि भारतको राजधानी दिल्लीमा खानेपानीको हाहाकार भएको छ ।

आन्दोलनकारीले दिल्लीमा पानी आपूर्ति गर्ने मुख्य वितरण प्रणाली बन्द गरिदिएपछि खानेपानीको हाहाकार भएको हो । हरियाणमा जाट समुदायले आरक्षणको माग गर्दै गरेको आन्दोलनको क्रममा उनीहरुले दिल्लीमा पानी आपूर्ति गर्ने मुख्य प्रणाली बन्द गर्दा दिल्लीका एक करोड भन्दा धेरै मानिसले पानीको समस्या भोगेका हुन् । जाट समुदायका आन्दोलनकारीले दिल्लीमा पानी आपूर्ति गर्ने मुख्य प्रणाली मुनाक नहर कब्जा गरेका थिए । अहिले भने सेनाले उनीहरुलाई हटाएर नहर आफ्नो नियन्त्रणमा लिएको छ । दिल्ली खानेपानी बोर्डका प्रमुख केशव चन्द्राले पानीको आपूर्ति व्यवस्था नराम्रोसँग प्रभावित भएको र यसलाई सामान्य अवस्थामा ल्याउन तीन चार दिन लाग्ने बताउनुभयो ।

पानीको समस्याका कारण दिल्लीका सबै विद्यालय बन्द गरिएको छ । चार दिनदेखि चलेको जाट समुदायको आन्दोलनको क्रममा हिंसा भड्किँदा अहिलेसम्म १८ जनाको ज्यान गएको छ । अन्य सयौं मानिस घाइते भएका छन् ।

सेनाले मुनाक नहरमा सोमबार नियन्त्रण कायम गरेको भएपनि आन्दोलनकारीले क्षति पु¥याएको नहर मर्मत गर्न केही दिन लाग्ने छ । मर्मतको काम नसकिएसम्म पानीको आपूर्ति सहज नहुने भन्दै मितव्ययी भएर पानी प्रयोग गर्न दिल्ली खानेपानी बोर्डका प्रमुख चन्दाले आग्रह गुर्नभयो ।

Comments