काठमाडौं । उपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले अवरोध गरिए सेना परिचालन गरेर भएपनि जलविद्युत आयोजना निर्माण कार्यलाई अगाडि बढाईने दृढता व्यक्त गर्नु भएको छ ।

शुक्रवार राजधानीमा आयोजित एक कार्य्रकममा उपप्रधानमन्त्री एवं उर्जामन्त्री रायमाझीले जलविद्युत आयोजना निर्माणमा कसैले अवरोध गर्न खोजे सेना परिचालन गर्ने बताउनुभएको हो । उँहाले त्यति गर्दा पनि नभए सार्वजनिक अपराधको मुद्दा चलाएर भएपनि आयोजनाको काम अघि बढाउने चेतावनी दिनुभयो ।

कार्यक्रममा रायमाझीले आउँदो वर्ष उर्जाको क्षेत्रमा उथल पुथल वर्ष हुनेभन्दै एक वर्षभित्र २५० देखि ३०० मेघावाट सौर्य उर्जा उत्पादन गर्ने र त्यति नै परिमाणमा भारतबाट विजुली आयात गरेर जनताले महसुस गर्ने गरी आधारभुत रुपमा लोडसेडिङ्ग अन्त्य गर्ने दावी गर्नुभयो ।

मन्त्री रायमाझीले मुलुकमा उर्जा विकासको लागि पहाडी लोकमार्ग र रिवर बेस ट्रान्स मिसन लाईन अघि बढाउँने बताउनुभयो । यससँगै चीन र बंगलादेशसम्म लाईन विस्तार गर्ने कामलाई पनि अघि बढाउँने र काठमाडौमा पनि ट्रान्समिसन र सब स्टेशनहरु अण्डरग्राउण्ड गर्ने कामलाई अघि बढाउँने बताउनुभयो ।

Comments