काठमाडौं । पाँच महिना लामो भारतको नाकाबन्दीले नेपालको दैनिकी नै प्रभावित भैरहँदा पनि भारतले भने आफूहरुले नाकाबन्दी नलगाएको दाबी गर्दै आएको थियो । तर अहिले आएर भने भारतले नाकाबन्दी लगाएको स्वीकार गरेको छ ।

नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता विकास स्वरुपले नाकाबन्दी भन्ने शब्द पहिलोपटक प्रयोग गर्दै नाकाबन्दी लगाएको स्वीकारेका हुन् । नेपालमा पेट्रोलियम पदार्थ विशेष गरी ग्यासको आपूर्ति अझै सहज हुन नसकेको विषयमा सोधिएको प्रश्नलाई उनले अस्वीकार गरेका थिए । उनले यसबारेमा आफूलाई जानकारी नभएको पनि बताए । बुधबारको तथ्याङ्क पत्रकार सम्मेलनमा पेश गर्दै विभिन्न नाकाबाट भित्रिएका गाडीको संख्या सुनाए तर त्यसमध्ये कति पेट्रोलियम पदार्थ र ग्यासको हो चाहिँ बताएनन् । नाकाबन्दी (ब्लकेड) शब्दलाई बारम्बार इन्कार गर्दै आएका प्रवक्ताले पत्रकार सम्मेलनमा भने ’ब्लकेड’ शब्द नै प्रयोग गर्दै यी तथ्याङ्कका आधारमा आपूर्ति ब्लकेडभन्दा पहिलाकै लेभलमा आइसकेको बताए ।

यसअघि दिल्लीले कुनै पनि अफिसियल वा ननअफिसियल ब्लकेड नभएको दावी गर्दै आएको थियो।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री कृपी शर्मा ओलीको भारत भ्रमणका क्रममा आपसी चासोका सबै विषयमा छलफल हुने जानकारी पनि दिइएको थियो । द्विपक्षीय सहयोगमा मुख्य गरी ऊर्जा, कनेक्टिभिटी र दुई देशका जनताबीचको सम्बन्धका बारेमा छलफल केन्द्रित रहने उनले बताए ।

Please follow and like us:

Comments