मेलबर्न । हिमाल चढ्ने नेपालका शेर्पा समुदायको साहास, वीरता,त्याग र समर्पणको कथामा आधारित हलिउड फिल्म मेलबर्नका दर्शकहरु माझ प्रदर्शन हुँदैछ ।

द अष्ट्रेलियन हिमालयन फाउन्डेशनले विश्व प्रसिद्ध ब्राण्ड काठमाडौंसँगको सहकार्यमा मेलबर्नबाट शेर्पा फिल्मको अष्ट्रेलिया च्यारिटी प्रिमियर शुरु गर्न लागेको हो । आगामी मार्च २४ मा मात्र औपचारिक रुपमा विश्वव्यापी रिलिज हुन लागेको फिल्म शेर्पा अष्ट्रेलियाका दर्शकहरुबीच भने एक महिना अगाडि नै प्रिमियर गर्न लागिएको हो । मेलबर्नमा यही आइतवार अर्थात फेब्रुअरी २१ तारिखमा कलिन्स स्ट्रीट ४५ स्थित द किनो सिनेमाज हलमा साँझ ६ः३० बजे प्रदर्शन हुँदैछ । यसबाट उठेको रकम नेपालको हिमाली भेगका नागरिकहरुको आधारभूत आवश्यकताका लागि सञ्चालित च्यारिटी कार्यक्रमहरुका लागि हस्तान्तरण गरिनेछ । टिकट प्रतिव्यक्ति ३० डलर रहेको छ ।

शेर्पा फिल्मले रिलिजपूर्व नै दुई वटा अन्तराष्ट्रिय अवार्ड जितिसकेको छ । आइतवार नै यो फिल्म मेलबर्न सहित अष्ट्रेलियाको सिड्नी,ब्रिसवन,क्यानबेरा,एडीलाइड,होबर्ड र पर्थमा समेत एकै साथ प्रदर्शन हुँदैछ । तर सिड्नी ब्रिसवन, क्यानबेरा र पर्थमा भने सबै टिकट अग्रीम रुपमा विक्री भैसकेको आयोजकले आफ्नो वेवसाइटमा उल्लेख गरेको छ । मेलबर्नका दर्शकका लागि भने केही टिकट अझै बाँकी रहेको बताइएको छ ।

 

Comments