काठमाडौं । आज फागुन ७ गते, ६६ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ ।

एकसय ४ वर्षे जहाँनिया राणा शासनको अन्त्य भई मुलुकमा प्रजातन्त्रको उदय भएको संझनामा आजका दिन प्रजातन्त्र दिवस मनाउने गरिएको छ । राणा शासनको अन्त्य भएपछि तत्कालिन राजा त्रिभुवनले आजैका दिन देशमा प्रजातन्त्र उदय भएको घोषणा गर्नुभएको थियो । वि.सं. २०४६ तथा ०६२–०६३ को आन्दोलनलाई २००७ सालको आन्दोलनपछि प्राप्त उपलब्धीलाई संस्थागत गर्ने अभियानको रुपमा पनि लिइन्छ । प्रजातन्त्र दिवसको अवसरमा आज काठमाडौं लगायत देशका विभिन्न क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । त्यसक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुको प्रतिमामा माल्यार्पण गर्नुहुने कार्यक्रम छ ।

मुलुकमा भएको संविधानसभाको दोस्रो निर्वाचनसँगै गठित संविधानसभाले गत असोज ३ गते गणतान्त्रिक नेपालको नयाँ संविधान समेत जारी गरिसकेको छ । नयाँ संविधान जारी भएपछि पहिलोपटक प्रजातन्त्र दिवस मनाउँन लागिएको हो । २००७ सालको प्रजातान्त्रिक आन्दोलनकै उपज स्वरुप मुलुक गणतान्त्रिक नेपालसम्म आइपुग्न सफल भएकोले फागुन सातको प्रजातन्त्र दिवस अहिले पनि उत्तिकै सान्दर्भिक रहेको राजनीतिक विश्लेषकहरुको कथन छ ।

प्रजातन्त्र दिवसको अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

Comments