काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको राज्य व्यवस्थाको नयाँ विधि एवं प्रक्रिया नेपाल र नेपालीको हित एवं अग्रगतिका लागि साधक सिद्ध हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

विगतको परम्परालाई निरन्तरता दिँदै प्रजातन्त्र दिवसका अवसरमा वक्तव्य जारी गर्दै पूर्वराजाले पछिल्लो राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

राष्ट्र, राष्ट्रियता र राष्ट्रिय गतिशीलताका लागि आफू पन्छिएर मार्ग प्रशस्त गरिदिएको उल्लेख गर्दै पूर्वराजा शाहले बैंककबाट जारी गरेको वक्तव्यमा राष्ट्रको सर्वोत्तम समुन्नतिको आकांक्षाबाट आफु पृथक नभएको दावी गर्नुभएको छ । विगतका सार्वजनिक अभिव्यक्तिहरुमा जस्तै पूर्वराजाले मुलुकको अवस्थाप्रति असन्तुष्टि प्रकट गर्नुभएको छ । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी पूर्वराजाको वक्तव्यमा दुर्भाग्यवस, नेपालको राष्ट्रियता, अखण्डता र राज्य व्यवस्थाको नयाँ विधि एवं प्रक्रिया नेपाल र नेपालीको हित एवं अग्रगतिका निम्ति साधक सिद्ध हुन नसक्नु सबैका लागि दुखद कुरा भएको उल्लेख छ ।

पछिल्लो समय देशमा गतिहीनता, संवेदनहीनता, अनेकतामा विग्रहको अवस्था देखिएको पूर्वराजाको ठम्याई छ । भविश्यको सुन्दर सपना, शान्ति तथा स्थिरताको चाहना राख्ने नेपाली जनता ज्यादै मर्माहत बनेको आफुले महसुस गरेको पूर्वराजाले दावी गर्नुभएको छ ।

Comments