काठमाडौं । देशमा बढ्दै गएको अपराधिक क्रियाकलाप र प्राकृतिक प्रकोप लगायतको कारण मुलुकभरबाट अहिले प्रहरी चौकीको माग बढेको छ ।

मुलुकका विभिन्न स्थानमा थप पाँच सय प्रहरी एकाइको माग भएको प्रहरी मुख्यालयले जनाएको छ । प्रहरी मुख्यालयलाई प्राप्त पत्र अनुसार पाँचवटा क्षेत्रीय प्रहरी कर्यालयले नयाँ एकाइ थप गर्न माग गरेका हुन् ।

जनसंख्या, अपराध चुनौती, विपन्न र पिछडिएको र भौगोलिक क्षेत्रका कारण देखाउँदै एकाइ थप्नुपर्ने माग बढेको हो । नयाँ प्रहरी एकाइसँगै चौकीको स्तर वृद्धिको समेत माग भएको छ ।

मुख्यालयका अनुसार पूर्व क्षेत्रबाट मात्रै एक सय ५८ वटा नयाँ एकाइ र एक सय १६ वटा प्रहरी चौकीको स्तर वृद्धिको माग भएको छ । जसमध्ये सबैभन्दा बढी खोटाङबाट नयाँ प्रहरी एकाइ थप्नुपर्ने माग छ । चौकीको स्तरवृद्धिको हकमा भने सिरहा जिल्लाबाट बढी माग छ ।

खोटाङमा २१ वटा नयाँ प्रहरी एकाइ र सिरहामा १३ वटा प्रहरी चौकीको स्तरवृद्धिको माग रहेको प्रहरी मुख्यालय स्रोतले जनाएको छ ।

पूर्वपछि मध्यक्षेत्रबाट एक सय १२, पश्चिम क्षेत्रबाट ७८, मध्यपश्चिमबाट ७२ र सुदूरपश्चिमबाट ५८ वटा नयाँ प्रहरी एकाइ थप्नुपर्ने माग आएको छ । उपत्यकाको हकमा भने प्रहरी एकाइ र स्तरवृद्धिको माग नआएको मुख्यालयले जनाएको छ ।
पाँचवटै क्षेत्रीय प्रहरी कार्यालयबाट माग भएअनुसार प्रहरी चौकीबाट इलाका प्रहरी कार्यालयमा स्तरवृद्धिका लागि दुई सय २७ वटा चौकी परेका छन् । जसमध्ये पूर्व क्षेत्रमा सबैभन्दा बढी प्रहरी चौकीको स्तरवृद्धि गर्नुपर्ने माग छ ।

पूर्वपछि मध्य क्षेत्रमा ६१, पश्चिम क्षेत्रमा ५१, मध्यपश्चिममा ४३ र सुदूरपश्चिममा २६ वटा प्रहरी चौकीको स्तर वृद्धि गरी इलाका प्रहरी बनाउनुपर्ने माग रहेको छ ।

माग भए अनुसार नयाँ प्रहरी एकाइ स्थापना गरेमा वार्षिक एक अर्ब ५० करोड रुपैयाँ खर्च राज्यलाई व्ययभार थपिने श्रोतको दाबी छ ।

हालको अवस्थामा भने प्रहरी दरबन्दी थप भएपछि मात्रै सम्भव रहने प्रहरी मुख्यालयले जनाएको छ ।

Comments

comments