–श्रीकृष्ण सिलवाल ।

गायक कुबेर राईको कुन चाहिं मायालुले मूलबाटो भुलेछिन्,त्यो त उनै जानून् तर यी लेजेन्डरी गायक कुबेरले यसपटक भने सम्झेर हो कि भूलेरै हो अष्ट्रेलियालाई सांगीतिक गन्तव्य बनाए ।

शनिवार मेलबर्नमा कुबेरले माइक्रोफोनको तार सम्हाल्दै,आँखा चिम्म गर्दै र खोल्दै दुई दशक भन्दा पनि पूरानो मायाले मूल बाटो भूलेछ बोलको गीत गाइरहँदा उपस्थित दर्शक र श्रोताहरुले यो गीत पहिलोपटक सुने जत्तिकै मीठास अनुभूति गरे । शायद यो कुबेरको गला र गीतमा रहेको संगीतको सही फ्यूजन मूल कारण थियो ।

किराँत नयाँ सम्वतको अवसरमा यिनै वरिष्ठ गायक कुबेर राईको सम्मानमा भिक्टोरियाको मेलबर्नमा आयोजना गरिएको येले दोङ नाइटमा गायक राईले आफ्ना कालजायी गीतहरु प्रत्यक्ष रुपमा गाएका थिए । उनका गीतहरु सुनिरहँदा लाग्थ्यो उनी आवाजले मात्र होइन मनले गाउँछन् र दर्शक श्रोताको मुटुको गहिराई नापेर गाउँछन् ।

kuberगायक कुबेर राईको प्रस्तुतिले भिक्टोरियाका किराँत समुदायले पहिलोपटक आयोजना गरिएको कार्यक्रमलाई निकै भव्यताका प्रदान गरेको थियो । कार्यक्रममा कुबेरको साथमा विभिन्न स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रम अपेक्षाकृत रुपमा भव्य र सफल भएकोमा किराँत एशोसियन अफ भिक्टोरियाका सञ्जय राई लगायतका टिम निकै दंग देखिन्थे । पहिलो कार्यक्रम नै सफल भयो । त्यसैले खुशी भएका छौं । यसबाट आगामी दिनमा अझै राम्रा कार्यक्रमहरु आयोजना गर्ने हौसला मिलेको छ,उनले बताए ।

कार्यक्रममा किराँत समुदायका मात्र होइन मेलबर्नमा रहेका सबै नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।
यति धेरै दर्शकहरुकाबीच कङ्गारुको देशमा आएर आफ्ना गीतहरु सुनाउँन पाउँदा प्रमुख अतिथि गायक कुबेर राईले प्रसन्नता व्यक्त गरे । यसका लागि आयोजकहरुलाई उनले धन्यवाद समेत दिए ।

संगीतका राम्रो ज्ञाता र प्रतिभा भएर पनि अवसरबाट बञ्चित भएपछि निराश हुँदै काठमाडौं छोडेर जन्मस्थल इलाममै गएर खेती किसानीमा रम्न थालेका गायक कुबेर राई अहिले भने देश विदेशमा सांगीतिक कार्यक्रम लिएर डुलिरहन्छन् ।

Comments

comments