विशेष । इलामको मंगलबारेस्थित भानुभक्त उच्चमाध्यमिक विद्यालयमा पढाउने एक शिक्षकले २०४७ सालमा छोरा जन्माए र नवयुग नाम राखेका थिए। शिक्षक भए पनि फुटबलमा उनको बहुत प्रेम थिए। फुटबलका जिल्लास्तरका म्याचहरु खेल्ने गरेका उनले जहाँ जाँदा पनि छोराका लागि एउटा फुटबल बोकेर आउँथे। यसरी बालकैदेखि नवयुग फुटबलमा अभ्यस्त बने। स्थानीय सनराइज एकेडेमीमा पढ्दाखेरी नै नवयुगको फुटबल कौशल देखेर धेरै लोभिन थालेका थिए। अन्तरविद्यालय स्तरीय प्रतियोगिताहरुमा खेल्दा आफ्नो स्कुलको टिमबाट धेरै गोल गर्ने उनी नै हुन्थे।

६ कक्षा पास गरेपछि उनी सनराइज छाडेर बाबुले पढाउने भानुभक्तमा भर्ना भए। विद्यालय परिवर्तन गर्नुको कारण थियो माओवादी। ‘माओवादीको पालामा सरकारी स्कुलको शिक्षकलाई प्राइभेट स्कुलमा पढाउन नदिने कुरा चलेको थियो। त्यही भएर बुवाले डराएर सनराइजबाट निकाल्नुभयो।’ त्यसो त जून स्कुलमा पढे पनि नवयूगलाई फरक पर्दैनथ्यो। उनलाई पढ्नतिर ध्यानै थिएन।

शिक्षक बाबुले बेला-बेलामा हपार्थे, ‘फुटबल-फुटबल भनेर मात्रै हुन्छ ? पढ्नु पनि पर्छ।’ नवयूग ङच्िच दाँत देखाइदिन्थे। तर, पारा उही। जेनतेन उनले एसएलसी पास गरे। तर, पढाइमा भन्दा फुटबलमा उनी धेरै अगाडी बढिसकेका थिए। मंगलबारेमा एउटा त्रिवेणी क्लव भन्ने थियो, जसले जुनियर फुटबल प्रतियोगिता आयोजना गथ्र्यो। जुनियर फुटबलमा चार फिट १० इन्च उचाईभन्दा कमका खेलाडीहरुले भाग लिन पाउँथे। आफूले फुटबलको आधारभूत कुराहरु त्यहि क्लबमा सिकेको बताउछन् नवयुग।

त्यतिबेलै उनलाई धेरैले ‘यो केटोले केहि गर्छ है’ भन्ने शैलीमा हेर्न थालिसकेका थिए। उनले आफ्नो स्कुललाई एउटा अन्तरविद्यालयस्तरीय प्रतियोगिता पनि जिताए। एन्फाले ६१ सालमा राष्ट्रव्यापी अन्डर १४ जिविस फुटबल प्रतियोगिता आयोजना गरेको थियो। सो प्रतियोगिताका लागि उनी इलाम जिल्लाबाट छानिए। प्रतियोगिताको उपाधि इलामले उचाल्यो। ६२ सालको संस्करण पनि इलामले नै लग्यो। दुवै प्रतियोगितामा नवयुगको भूमिका अहम् थियो।

एसएलसी पास गरेपछि उनी भानुभक्तमै प्लस टु भर्ना भए। त्यतिबेलासम्म उनलाई फुटबलको ज्वरोले जरैसम्म छोइसकेको थियो। त्यसैले पढाइ-सढाइ गोली मार भन्दै उनी बत्तिएर अन्डर-१६ को छनोट प्रतियोगिता खेल्न काठमाडौं आए। तर, कुन्नी के कारणले हो उक्त प्रतियोगिता त्यसबेला भएन। नवजितलाई गाउँ फर्किन मन लागेन। वनस्थलीमा ठूलोबुवाको घरमा बसेर उनले काठमाडौंमै फुटबलका अवसरहरु चहार्न थाले। कता-कताबाट लाइन मिलाएर हलचोकमा सशस्त्र प्रहरीको टोलीसित फुटबल अभ्यास गर्ने मौका पाए उनले।

अभ्यासमा राम्रो खेल्नेलाई सशस्त्रको टोलीमा खेलाइने र मासिक पाँच हजार तलव दिने कुरा थियो। तर, पछि पैसा नदिने कुरा आएपछि उनी छाडेर हिँडे। त्यसपछि पुगे सी डिभिजनको टोखा क्लबमा। इलामकै पुटबलर धिरेन प्रधानले उनलाई त्यहाँ पुर्याएका थिए। त्यहाँ केहिदिन मात्रै खेल्दा उनीमाथि हिमालयन शेर्पाका कर्माछिरिङको नजर पर्यो। कर्माछिरिङले बी डिभिजनको हिमालयन शेर्पामा ज्वाइन गर्न अफर गरे। उनले स्वीकार नगर्ने कुरै थिएन। हिमालयन शेर्पा ज्वाइन गरे पनि उनी त्यहाँ बेन्चमै सिमित भए। खासै प्रतियोगिता खेल्न पाएनन्। यता उनको पढाई (झन्) बिगि्रएको थियो।

पटक-पटक परिक्षा दिँदा पनि १२ कक्षा उत्तिर्ण गर्न सकेनन्। दिक्दार भएका उनी लागे घरतिर। त्यतिबेला गाउँको एकजना साथीले उनलाई भन्यो, जाउँ धनकुटा, आर्मीमा भर्ना खुलेको छ। ‘मेरो बुवाले मान्नुहुन्न यार,’ उनले भने, ‘तँ सम्झाइदेन।’ आखिरमा बुवाको अनुमति प्राप्त भयो। उनीहरु दुवै जनाले धनकुटाको कृष्णदल गणमा पुगेर दरखास्त हाले। नवयुगले नाम निकाले तर, साथी फालिए। ‘साथीकै जोडबलले आर्मीमा भर्ना हुन गइयो, तर, म छनोट भएर उ रिजेक्ट भएको सम्झिँदा अहिले पनि दुख लाग्छ,’ नवयूग भन्छन्। आर्मी बन्न नसकेको उनको साथी अहिले दुबईमा छन्।

‘वास्तवमा म सिपाही बन्ने रहरले भन्दा पनि फुटबल खेल्ने लोभले आर्मी ज्वाइन भएको हुँ,’ नवयुगले भने, ‘तर, अहिले आफूलाई फुटबलर भन्दा पहिले आर्मी भन्न रुचाउछु।’ त, यसरी २०६५ सालमा उनी देशका एक सैनिक बने।

000

सेनाको नौ महिने आधारभूत तालिमकै क्रममा उनी राम्रो फुटबल खेल्ने भनेर चिनिन थालिसकेका थिए। यहि बीच सेनाको हेडक्वार्टरले आफ्नो फुटबल टिमका लागि संभावित खेलाडीको नाम पठाउन देशभरका सैनिक क्याम्पहरुमा पत्र पठायो। कृष्णदल गणले नवयूगलाई ट्रायलका लागि हेडक्वाटर पठायो। ट्रायलमा उनी पास भए। आर्मी क्लबबाट फुटबल खेल्ने उनको सपना पास भयो।

टिमबाट म्याच खेल्न उनले लामो प्रतिक्षा गर्नुपरेन। त्यतिबेला सन्तोष नेपालीले मिड फिल्डमा खेल्थे। उनी भर्खरै शान्तिसेनामा गएकाले उनको ठाउँ खालीरहेछ। चयनकर्ताले त्यसमा नवयुगलाई मौका दिए। केहि महिनापछि सन्तोष फर्के। लगत्तै अर्का मिडफिल्डर शान्तिसेनामा गए। नवयूगले फेरि राजुको ठाउँमा लिए। पछि राजू पनि फर्किए। तर, यतिञ्जेल नवयुगले आफूलाई प्रमाणित गरिसकेका थिए। त्यसैले चयनकर्ता दबावमा परे। आखिरमा उनलाई मिडफिल्डको साटो स्ट्राइकरमा राखियो।

आर्मीको टिमबाट लिग खेल्न थालेपछि उनी राष्ट्रिय टोलीका चयनकर्ताको नजरमा पर्न थाले। २०६९ मा राष्ट्रिय लिगमा सर्वाधिक गोलकर्ता बने उनी। त्यसपछि उनलाई राष्ट्रिय टोलीबाट ‘कलिङ’ भयो। तर, छनोट हुन सकेनन्। ५-६ चोटी कलिङ हुँदा पनि राष्ट्रिय टिमका लागि छनोट हुन नसक्दा उनको निराशा बढ्दै गएको थियो। अघिल्लो वर्षको राष्ट्रिय लिगमा उनले उत्कृष्ट प्रदर्शन देखाए। लिगमा १४ गोल ठोकेर उनी सर्वाधिक गोलकर्ता मात्रै बनेनन्, म्यान अफ दि टुर्नामेन्टसमेत घोषित भए।

केहि वर्षयता खस्किदै आएको आर्मी नवयुगकै बलमा उक्त लिगमा उपविजेता बन्न सफल भयो। यता, म्याच फिक्सिङमा परेर चार खेलाडीहरु गुमाएको अवस्थामा चयनकर्ताका अगाडी नवयुगलाई लिनुको विकल्प नै रहेन। यद्यपि, सिनियर खेलाडीको अनुपस्थितका कारण मात्रै आफूले राष्ट्रिय टोलीमा स्थान बनाएको स्वीकार गर्दैनन् नवयूग। ‘म लिगमा उत्कृष्ट खेल देखाएपछि टोलीमा परेको हुँ’ उनी गर्वसाथ भन्छन्।

000

नवयुगले पुणेमा आयोजित भारतसितको फ्रेन्डली म्याचमा पहिलोपटक राष्ट्रिय टिमबाट डेब्यू गरे। यद्यपि उनी पहिलो रोजाईमा थिएनन्। प्रतिस्थापनका रुपमा मैदानभित्र तिरेका उनले २५ मिनेट खेल्दा कुनै चमत्कार देखाउन सकेनन्। त्यसपछिको साफ च्याम्पियनसिपमा पनि उनको प्रदर्शन औसत रह्यो। उनलाई दुई म्याचमा अनिल गुरुङको प्रतिस्थानमा मैदानमा उतारिएको थियो। साफ च्याम्पियनसीप लगत्तै नेपाली टोली बंगबन्धु कप खेल्नका लागि बंगलादेश पुगेको थियो। उक्त प्रतियोगितामा भाग लिन जाँदा केवल सेमिफाइनलसम्मको लक्ष्य राखिएको बताउँछन् नवयुग। ‘हामीले जसरी पनि सेमिफाइनलसम्म पुग्नुपर्छ भन्ने लक्ष्य लिएका थियौं’ उनी भन्छन्, ‘फाइनल नै जित्ने त कल्पनासमेत थिएन।’

जसरी फाइनल जित्ने टिमको कल्पना थिएन, त्यसैगरी कुनै म्याचमा ह्याटि्रक गर्ने नवयुगको कल्पना थिएन। सेमिफाइनलसम्म पुग्दा उनले व्यक्तिगत गोलको खाता समेत खोल्न सकेका थिएनन्। उनीबाट प्रशिक्षकले धेरै ठूलो आशा पनि राखेका थिएनन्। यद्यपि, हौसला भने दिइरहेका थिए।

सेमिफाइनलको दिन उनले आफ्नो रुम पार्टनर विकेश कुथुलाई के सुरमा हो भनेका थिए, ‘हेर, भाइ आज म जसरी पनि गोल ठोक्छु।’ विकेश पनि ठोक् ठोक् तैले सक्छस भन्दै हौस्याए। नभन्दै नवयूगको मुखबाट सरस्वतीले बोलेजस्तो भयो। उनले गोल ठोके त्यो पनि एक होइन तीन गोल । तीनवटै गोल उत्कृष्ट थिए।

नवयुग रातारात हिरो बने। सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गर्दाको क्षणलाई आफ्नो जीवनकै सर्वाधिक खुशीको क्षण मान्छन् उनी। ‘मेरो त खुशीको सीमा नै थिएन। कतिकति खेर त सपना हो कि झैं लाग्थ्यो।’ उनी भन्छन्। त्यो रात खुशीले आफू निदाउनै नसकेको उनले बताए। राति सुत्नेबेलामा यसो फेसबुक खोलेर हेर्दा देखे, सवैतिर उनी छाएका थिए। उनको फेसबुकमा म्यासेज र फ्रेन्ड रिक्वेस्टको बाढी थियो। अहिलेसम्म पनि तिनीहरुलाई रेस्पोन्स गर्न भ्याएका छैनन् उनले। सेमिफाइनलमा ह्याटि्रक गरेका नवयूगले फाइनलमा पनि एक गोल गरे। यद्यपि, सेमिफाइनलमा आफूले गरेको दोस्रो गोल उनलाई सबैभन्दा मनपरेको रहेछ।

‘सानैदेखि फुटबल खेल्दै आए पनि मैले यसैमा मेरो करिअर बनाउछु भन्ने हिसाबले सोचेको थिइन। तर, अब फुटबलबाहेक अरु केहि सोच्न पनि नसक्ने भएको छु,’ नवयूगले भावुक बन्दै भने। नवयूगले सानैदेखि टेलिभिजनमा विभिन्न देशका अन्तर्राष्ट्रिय फुटबल म्याचहरु हेर्दै आएका छन्। फुटबलमा उनको मनपर्ने देश अर्जेन्टिना र क्लब रियल म्याड्रिड हो। मन पर्ने खेलाडी रोनाल्डो।

अन्त्यमा : ह्याट्रिक ब्वाइ नवयुगका बारे जान्नै पर्ने तीन तथ्य :

१) नवयुग श्रेष्ठ त्रिभुवन आर्मीबाट व्यवसायिक फुटबल खेल्ने खेलाडी हुन्। हालै सम्पन्न राष्ट्रिय लिगमा नवयुग उत्कृष्ट फरवार्ड घोषित र सर्वाधिक गोलकर्ता उनै थिए। उनले कूल १४ गोल गरेका थिए। हेडिङ, लामो प्रहार सबै किसिमका गोल त्यसमा समावेश छन्।

२) भारतविरुद्ध खेलिएको मैत्रिपूर्ण खेलमा उनले डेब्यु गरेका थिए। साफ च्याम्पियनसिपको तयारीका लागि बोलाइएको ४० सदस्यीय टोलीमा लामो समयदेखि स्ट्राइकरको भूमिका रहँदै आएका जुमानु राई र सन्तोष साहुखलको अनुपस्थितिमा नवयुगसँग निकै आशा गरिएको थियो।

३) नवयुग भर्खर २५ वर्षका भए। इलामको मंगलबारेमा जन्मिएका नवयुगले स्थानीय भानुभक्त उमाविबाट अध्ययन र फुटबल सुरू गरेका हुन्।

Comments

comments