-दीपेन्द्र दोङ तामाङ

सँधै झैं आज पनि प्रेम व्यूँझिदा विहानको झण्डै साँढे सात बजिसकेको थियो । पूर्वपट्टि फर्केको झ्यालबाट छिरेको घामको प्रकाशले व्युँझाइ दिएर मात्रै हो,नत्र अझै केही समय निन्द्रामै रहने योजना थियो उसको । हुन पनि हो करिब नौ महिना पछि हङकङबाट भर्खरै फर्केको उसलाई कामको पनि कुनै चटारो थिएन । त्यसो त ऊ हङकङ जानुको पनि छुट्टै कथा छ ।

प्रसँग निस्कियो भने त्यसबारे पछि अवश्य उल्लेख भएर आउनेछ ।

ऊ उठेको थाहा पाएर आमाले उसको लागि मीठो मिल्क कफि बनाएर ल्याउँनुभयो । ऊ करीब १५ वर्षको हुँदा देखि नै उसले आफ्नो हरेक विहान आमाले बनाइदिनुभएको मिल्क कफी पिएरै सुरुवात गर्दै आएको छ । नौ महिनाको हङकङ बसाइमा भने त्यो पक्कै पनि सम्भव थिएन,तर नेपाल फर्किएपछि त्यो भंग भएको क्रमले फेरि निरन्तरता पाउन थालेको छ ।

उसले कफि पिइ नसक्दै मोबाइलमा म्यासेज आएको अलर्ट बज्यो । उसले इनबक्स खोलेर हेर्यो । हेप्पी भ्यालेन्टाइन डे,लेखिएको रहेछ । म्यासेज पढेर एकछिन् त ऊ झस्कियो । किन कि आज फेब्रुअरी १४ भन्ने पनि उसलाई थाहा थिएन । म्यासेज पढेर कताकता खै केले हो विझे जस्तो पनि लाग्यो उसलाई तर तुरुन्तै आफूले आफैलाई सम्हाल्यो उसले ।

पोहोर साल यही दिनको लागि ऊ एक हप्तादेखि कति व्यग्र वनेको थियो । यही दिन एक थुँगा गुलाफको फूलको जोहो गर्न सिंगो काठमाडौं फन्को मारेको र लभ कार्डमा सिर्फ मायाका तीन शव्द लेखेको आर्फैंलाई चित्त नबुझेर दर्जनौं महँगा कार्ड च्यातेर फालेका ती क्षणहरू कता कता एक एक गर्दै सजीव भएर आए । अनि अनायसै उसको मनमा एउटा जिज्ञासा उठ्यो–साँच्ची हिजोआज माया कहाँ होलिन् ?

माया अर्थात गत वर्षको भ्यालेन्टाइनको दिनसम्मकी उसकी प्रेमिका,हृदयकी रानी,मनकी जून..अनि मायालुलाई दिन मिल्ने र दिने हरेक उपमाकी एक्ली हकदार ।

उनीहरूको अफेयर करीब दुई वर्ष चल्यो । उनीहरू एउटै अफिसका सहकर्मी थिए । मायाको इन्टिलेजेन्सले उसलाई उनीप्रति आकर्षित बनाएको थियो भने उसको केयरिङ बानीले माया ऊप्रति आकर्षित थिइन् । यो कुरा मायाले भनेकै आधारमा हो उसले थाहा पाएको । उनीहरू एक अर्काप्रति यति नजिक थिए कि एकपल पनि छुट्टिन नपरे हुन्थ्यो जस्तो लाग्थ्यो दुवैलाई । त्यसैले उनीहरू सुखका कुरा पनि बाँड्थे भने दुखका कुरा त झन् नबाँड्ने भन्ने कुरै थिएन । सधैं एक अर्काका कुरा सुनिरहूँ लाग्ने, सधैं साथै रहिरहन मन लाग्ने त्यो पल साँच्चिकै अहिले सम्झदा पनि अद्भूत लाग्छ उसलाई ।

“प्रेम,के हाम्रो माया जीवनभरका लागि हुनसक्ला ?” पोहोर उसकै कुममा स्नेहपूर्वक आफ्नो शीर अड्याउँदै मायाले आफ्नो मनको आशंका यसै गरी व्यक्त गरेकी थिईन् ।

“तिमी एउटा जीवनको कुरा गछ्र्यौ माया ? यो जुनी त के सातौं जुनीसम्म पनि हामी साथै रहनेछौं ।”प्रेमले पनि बडो भावुक हुँदै कन्फिडेन्डका साथ भनेको थियो ।

यतिकैमा आमाले खानाका लागि सोधेर उसको फ्ल्यास व्याकको सिलसिला भंग गरिदिनुभयो । “आमा आज म वाहिरै खाना खान्छु । एक ठाउँमा जान मन लागेको छ मलाई ।” यति भनेर ऊ आफ्नो डायरी,ल्यापटप र केही सामान बोकेर हिड्यो । जाँदा जाँदै आज राति सम्भवतः घर नआउँने पूर्व जानकारी पनि आमालाई दिएर गयो ।

ट्याक्सी चढेर ऊ सीधै काठमाडौभन्दा अलि पर रहेको पार्क भिलेज होटेलतिर हानिएर गयो । प्रेम दिवसको दिन भएकोले स्वभाविक रूपमा होटेलका रेष्टुराँ मायालु कपलहरूले नै भरिभराउ भैसकेका थिए । विभिन्न वर्ग,वर्ण र उमेरका ती कपलहरू एक अर्कामा हराइरहेका थिए । कोही गफिदै थिए,कोही हाँस्दै थिए त कोही दुनियाँको आँखा छल्ने कोशीसमा पनि देखिन्थे ।

ऊ सरासर रेष्टुराँको दायाँ कुनाको टेवुल ताकेर गयो । तर त्यहाँ अगाडि नै एक जोडी आएर बसिसकेका रहेछन् । त्यो टेबुल त्यही थियो जहाँ पोहोर सालको यही दिन माया र ऊ बसेको थियो । मन भारी भएर आयो उसको । तैपनि गर्नसक्ने केही थिएन उसले । त्यसैले त्यो टेबुल भन्दा दुइटा परको अर्को टेबुलमा गएर बस्यो ऊ । उसले चारैतिर आँखा डुलायो । वातावरण नै प्रेममय थियो । रेष्टुराँको सजावट र मधुर स्वरमा गुञ्जिरहेको गीतले प्रेममय त्यो वातावरणमा अझै रंग घोलिरहेको थियो । त्यही टेबुलमा बसेर पोहोर माया र उसले कति सपना सँगै बाँडेका थिए,कति कसम मिलेर खाएका थिए । एक एक गर्दै त्यो दिनको सम्झना ताजा हुँदै आयो ।

“म त तिमी विना एकपल पनि बाँच्न सक्दिनँ जस्तो लाग्छ । केही गरी तिमीबाट छुट्टिएर बस्न परे म त ज्यूँदै मर्छु होला..” मायाको यो कुरा उसले सुन्न सकेन । त्यसैले उसले आफ्नो हत्केलाले मायाको कोमल ओंठ छोपिदियो र बोल्यो–“भो आजको दिनमा यस्तो कुरा नगरौं माया । फेरि असम्भव कुरा गरेर के नै फाइदा छ र ? बरु आकाशमा यो जुन तारा नरहला,तर हाम्रो माया अमर भएर रहनेछ माया,”प्रेमले आदर्श छाँट्यो । उसको त्यो कुराले मायाको मुटुको देव्रे कुनामै छोएछ कि कसो,उनी त हर्षले बरर्र आँसु झार्दै रोइन् र प्रेमलाई कसिलो आँगालोमा निकैबेर च्यापिरहिन् ।

यसै गरी उनीहरूबीच जिन्दगीका कुराहरू पनि चले । समाजका दृष्टिकोणका एजेण्डा पनि उठे गफको सिलसिलामा । त्यो पार्क भिलेजको खुला चौरमा अरु थुप्रै जोडीहरूको बीचमा एक जोडी उनीहरूका पनि थिए । रात छिप्पिदै थियो । तर चिसोको बाबजुद पनि ती जोडीहरू आकाशको त्यही ताराको प्रतीक्षामा थिए,जुन् झरेर वा खसेर जानेछ । र,त्यही खस्दै गरेको तारासँग आफ्नो प्रेम बलियो पार्ने शक्ति माग्ने योजनामा ती जोडीहरू थिए । नभन्दै एउटा तारा झरेर गयो । प्रेम र मायाले पनि आफूहरूको माया अमर रहोस् भन्ने वरदान मागे । त्यसमा उनीहरू ढुक्क पनि थिए । किनकि खस्दै गरेको ताराले अरुको मनोकाँक्षा पूरा गराएर जान्छन् रे भन्ने उनीहरूले धेरै पटक सुनेका थिए । त्यसैबीच प्रेमको मोबाइलमा म्यासेज आएको अलर्ट बज्यो । उसले मोबाइलको इनबक्स खोल्यो । म्यासेज स्मृतिले पठाएकी थिइन् । कुनै केटीको म्यासेज आएको थाहा पाएर मायाले प्रेमसँग त्यसबारे सोधिन् । उसले आजको दिनमा सबै साँचो बताउँने अठोट गर्यो र भन्यो–“स्मृति मेरी फस्र्ट लभ थिइन् । तिमीसँग भेट्नु तीन महिना अघि हाम्रो ब्रेक अप भयो ।”

प्रेमको कुरा सुनेर मायाको अनुहारको भाव फेरियो । “फस्र्ट लभ ? व्रेक अप ? त्यसो भए अहिले किन म्यासेज गरेकी त ? कुरा के हो प्रेम ? टेल मि दी ट्रुथ ।” माया आवेशमा आइन् ।

“कम अन् माया । त्यस्तो केही होइन । अहिले हामीबीच केही छैन त्यस्तो । तर पनि हरेक भ्यालेन्टाइनमा हामी एक अर्कालाई यसरी नै वीस गर्छौ । अप्टर अल इट वज आवर फस्र्ट लभ..” प्रेमले सहजै उत्तर दियो । तर माया उसको कुरामा कन्भिन्स हुन सकिनन् । “नो इट्स नट फेयर प्रेम । तिमीले मलाई धोकामा राख्यौ । यू लाइड मि..यू डिसिभ मी..” रुँदै माया उठेर गईन् । प्रेमले स्मृति र आफ्नो सम्बन्धको बारेमा मायालाई बुझाउँन र मायालाई रोक्ने हर कोसीस गर्यो । तर माया रोकिइनन् । एउटा ट्याक्सी समातेर त्यो रातको निरवतामा यसरी विलाइन् कि त्यसपछि आजसम्म पनि उनी प्रेमको सँसारमा प्रकट हुन सकेकी छैनन् ।

डायरीका पानाहरू पल्टाउँदै पोहोरसालको भ्यालेन्टाइनको ‘ल्यासब्याकमा हराइरहेको प्रेमको ’ल्यासब्याकलाई होटलको आँगनमा जम्मा भएका जोडीहरूको चिच्याहटले भंग गरिदियो । फेरि आकाशबाट एउटा तारा झर्दै रहेछ । त्योसँगै ती जोडीहरू आँखा चिम्म गर्दै छातीमा हत्केला राखेर आफ्ना लागि वरदान माग्दै थिए । सायद ती सबैले फेरि मागे होलान्–आफ्नो प्रेम अमर बनाइदिने वर । अनि झरेको त्यो तारालाई साक्षी राखेर मनमनै कसम खाए होलान् जुनी जुनी सँगै रहने । जसरी पोहोर साल माया र उसले पनि खाएको थियो । आज प्रेम दिवसमा ऊ एक्लै थियो । तैपनि तुलनात्मक रूपमा उसलाई यसपालिको भ्यालेनटाइन डे सार्थक लाग्यो । किनभने यसपटक उसले एक थुँगा गुलाफका लागि राजधानीको चक्कर मार्नुपरेन । तीन शब्द लेख्न दर्जनौं कार्ड च्यात्नुपरेन । एक अर्काको हातमा हात राखेर मायाको झुटो कसम खानुपरेन,वाचा गर्नुपरेन । अनि एक्कासी अलप भएको मायाको वियोग विर्सन देश छोड्न परेन ।

ऊ डायरीका पानाहरू पल्टउँदै थियो । एउटा पानामा गएर अड्कियो ऊ । र,त्यहाँ लेखिएको एउटा शीर्षकमाथि घोरियो । अनि एक्लै हल्का मुस्कुराउँदै रातो साइनपेनले शीर्षकमा लेखिएको व्ल्याक शव्दलाई मेटेर त्यसै माथि थपिदियो रेड,अनि मनमनै उसले शीर्षक पढ्यो –रेड भ्यालेन्टाइन् ।

Comments

comments