काठमाडौं । भारतको सिलोङमा जारी १२ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गतको फुटबल खेलमा पहिलोपटक घरेलु टिमलाई पछ्याउँदै नेपाल फाइनलमा पुगेको छ ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतसँग पहिलोपल्ट गोलरहित बराबरी खेल्दै सागको फाइनल प्रवेश गरेको हो । यसअघि चार खेलमा भारतसँग पराजित हुँदै आएको नेपाली टिमले त्यसलाई पूर्णविराम लगाउँदै नेहरू स्पोर्ट्स कम्प्लेक्समा गोलरहित बराबरी खेल्यो । बराबरी खेलको मद्दतमा नेपाल राउन्ड रोबिन लिगमा ७ अंक जोड्दै एक खेल बाँकी छँदै फाइनलमा पुग्यो ।

खेलमा भारतीय टिममाथि सुरु देखिनै हाबी भएका नेपाली खेलाडीले गोल गर्ने प्रयास गरेपनि सफल भएनन् ।
आजको खेलसँगै नेपालले तीन खेलबाट ७ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यसैगरी बंगलादेशले ६ र भारतले ५ अंक जोडेका छन् । चार खेल खेलेको माल्दिभ्सको ४ अंक छ ।

तीनै खेल हारेको श्रीलंकाले अंकको खाता खोल्न सकेको छैन । पाँच देश सहभागी महिला फुटबलमा राउन्ड रोबिन लिगमा शीर्ष दुई स्थानमा रहने टिमले स्वर्णपदकका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । तेस्रो हुनेले सीधै कांस्य पाउनेछ ।

राउन्ड रोबिनको अन्तिम चरणमा शनिबार नेपालले श्रीलंकाको सामना गर्नेछ ।

Comments

comments