काठमाडौं । अमेरिकी मुलुकहरुमा देखिएको खतरनाक जिका भाइरस नेपालको छिमेकी मुलुक चीनसम्म आइपुगेको छ । यो खबरले नेपाली जनतालाई पनि अत्याउँन शुरु गरेको छ । विश्वव्यापीकरणले गर्दा चीनसम्म आइपुगेको जिका भाइरस नेपालसम्म आइपुग्न कुनै समय नलाग्ने भएपछि सर्वसाधारणमा त्रास फैलनु स्वभाविकै हो । योसँगै जिका भाइरसलाई रोक्न नेपाल सरकारको तयारी कस्तो छ भन्ने जिज्ञासा पनि उठ्न थालेको छ ।

विश्वभर महामारीको रुपमा फैलिदै गएको जिका भाइरस अमेरिका हुँदै चीनसम्म आइपुगेको खबरले नेपाल सरकार र नेपाली जनतालाई पनि झस्काइदिएको छ । तर केही भैरोलोजिस्टहरुले अहिले नेपालमा जीका भाइरसको पहिचान गर्ने उपकरण नभएकोले यसको संक्रमण परीक्षण गर्न नसकिने दाबी गरिरहेकाछन् । तर जिकाको सम्भावित संक्रमण पहिचान गर्न स्वास्थ्य सेवा विभागले डब्लूएचओको सहयोगमै किट ल्याउने प्रक्रिया भने सुरु गरेको छ । जीका भाइरसको पहिचान गर्न किट बाहेक अरु उपकरण र शक्तिशाली ल्याब समेत रहेको टेकु जनस्वास्थ्य प्रयोगशाला का भाइरोलोजिस्ट बिम्लेश झा बताउँछन् ।

विश्वभरि आतंक मच्चाइरहेको जिका भाइरस डेंगुजस्तै एक प्रकारको भाइरस हो । तर, अन्य भाइरस जस्तै यसबाट बच्न कुनै औषधी वा खोप बनिसकेको छैन । जिका जन्मदोष र मस्तिष्कसम्बन्धी विकारमा जिम्मेवार छ । गर्भवतीमा यसको संक्रमण भए शिशु असामान्य रूपले सानो टाउकोसहित जन्मिन्छ । जिका भाइरसकै कारण भर्खरै जन्मिएका शिशुहरुको टाउको अस्वभाविक रुपमा सानो हुने गर्दछ । यही भाइरसका कारण कतिपय शिशुको मृत्युसमेत हुने गरेको छ ।

गत नोभेम्बरदेखि ब्राजिलमा मात्र ४ हजार १ सय ८० शिशुहरु यस्तो असामान्य अवस्थामा जन्मिएका छन् । अहिलेसम्म ५१ शिशुको मृत्यु भएको छ । यो भाइरस रगतको आदान–प्रदान, ल्याबमा गरिने एक्सपोज र यौन सम्पर्कबाट पनि सर्ने गरेको पाइएको छ । सुत्केरी महिलाको दुधमा समेत यो भाइरस देखिएकोले स्तनपान गर्दा समेत यो भाइरस सर्ने विषय भने पुष्टि हुन बाँकी नै छ । यौन सम्पर्कबाट जिका सरेको दुईवटा घटना देखिएका छन् । अहिलेसम्म कुनै उपचार वा खोपको व्यबस्था नभएकोले भैरोलोजिस्टका अनुसार जिकाबाट बच्नु भनेको जिका प्रभावित क्षेत्रमा भ्रमण नगर्नु र लामखुट्टेको टोकाईबाट बच्नु हो ।

सरकारकार तर्फबाट पनि एयरपोर्टमा रोग प्रभावित क्षेत्रबाट आउने मानिसहरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने भाइरोलोजिस्टहरुको सुझाव छ । रोगको प्रकोप भैसके पछि रोग नियन्त्रणको लागि भन्दै ठूलो धनराशी खर्चनुभन्दा प्रकोपबाट बच्न पूर्ब तयारी गर्नु उत्तम उपाय मानिन्छ । त्यसैले छिमेकी मुलुक चीनसम्म आइसकेको जीका भाइरस कतिखेर र कसरी नेपाल सम्म आइपग्ला,यसै भन्न नसकिने भएकोले बेलैमा सचेत रहनुपर्ने भाइरोलोजिस्टहरुको सुझाव छ ।

Please follow and like us:

Comments