काठमाडौं । आन्दोलनमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा थप तीन दल समेटिने भएको छ ।

अब मोर्चामा आवद्ध दलहरुको संख्या ७ पुगेको छ । संसदमा रहेको विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक बाहेकका मधेसी दलहरु मोर्चामा समेटिएका छन् ।

बिजुलीबजारस्थित तमलोपा कार्यालयमा बसेको बैठकले शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिल झा नेतृत्वको संघीय सदभावना र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक मोर्चामा आवद्ध हुने सहमति भएको छ । ती तीन दल र जयप्रकाश गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानसमेत सम्मिलित भएर संघीय समावेशी मधेसी गठबन्धन बनाएर आन्दोलन गर्दै आएका थिए । संसदमा नरहेको र पार्टीको स्वरुप पनि नलिइसकेको भन्दै मोर्चाले तमरा अभियानलाई स्विकार गरेको छैन ।

मोर्चाका नेताहरु तमलोपा नेता हृदयश त्रिपाठी, सदभावनाका लक्ष्मण लाल कर्ण र तमसपाका रामनरेश राय गठबन्धनमा आवद्ध नेताहरु अनिल झा, राजकिशोर यादव र रामसपाका नेता केशव झाबीच भएको बैठक मोर्चालाई नै विस्तार गर्ने निर्णयमा पुगेको हो । बैठकमा तमालोपा नेताहरु वृषेशचन्द्र लाल, सवेन्द्रनाथ शुक्ल र जितेन्द्र सोनल पनि सहभागी थिए ।
भोलि औपचारिक समारोहपछि मात्र मोर्चा विस्तारको निर्णय सार्वजनिक गर्ने मधेसी दलहरुबीच सहमति भएको छ ।

Please follow and like us:

Comments