मेलबर्न । अष्ट्रेलियाका विभिन्न राज्यमा बस्दै आएका नेपाली समुदायमा नयाँ नयाँ फिल्मप्रतिको क्रेज बढ्दै गएको छ ।

पछिल्लो समयमा हप्तैजसो हुँदै आएको नयाँ नयाँ नेपाली फिल्महरुको प्रदर्शनले यहाँका नेपाली दर्शकहरुमा विकास हुँदै गएको फिल्म कल्चरलाई पुष्टि गर्दछ । त्यसैले नेपाली फिल्म मेकरहरुले पनि प्रवासी बजारलाई ध्यानमा राखी फिल्मको प्राविधिक तथा कथानक पक्षलाई निकै सुधार गर्दै लगेको पाइन्छ ।

यही क्रममा नेपाली विषय र परिवेशलाई लिएर हलिउडमा निर्माण गरिएको फिल्म हाइवे टु धम्पुस अब अष्ट्रेलियाका विभिन्न स्थानमा प्रदर्शन हुने भएको छ । नेपालको प्रमुख पर्यटकीय गन्तव्य धम्पुस,नेपालको संस्कृति,प्राकृतिक सौन्दर्य र सामाजिक परिवेशलाई निकै सुन्दर ढ्रगले प्रस्तुत गरिएको यो फिल्मको सबैभन्दा सशक्त पक्ष यसको अर्थपूर्ण कथा र विषवस्तु हो । अनि कलाकारहरुको जीवन्त अभिनय र उत्कृष्ट छायांकनले हाइ वे टु धम्पुसलाई अझ राम्रो बनाइदिएको छ । त्यसैले नेपाली फिल्ममा तपाईले अपेक्षा गरेभन्दा पनि धेरै राम्रो पाउँनुहुनेछ यसलाई ।

नेपाली परिवेशलाई मात्र लिएर नेपालमै सम्पूर्ण छायांकन गरिएको सम्भावत यो पहिलो फिल्म हो । साथै यस फिल्ममा दुई नेपाली कलाकारहरुले नै मूख्य भूमिका निभाएका छन् । अर्थात सुयसा राणा र राजबल्लव कोइराला यसमा प्रमुख भूमिकामा रहेका छन् ।

हलिउड निर्देशक रिक म्याकफल्र्याण्डले निर्देशन गरेको हाइवे टु धम्पुस अब यही फेब्रुअरी २८ मा क्वीन्सल्याण्डका नेपाली दर्शकहरुमाझ विशेष प्रदर्शन गरिने भएको छ । एनएएफए क्वीन्सल्याण्ड र माइण्ड द ग्यापको व्यवस्थापनमा कङ्गारु पोइन्टमा अपरान्ह ४ बजे प्रदर्शन हुने यो फिल्मको उक्त शोबाट उठेको रकम नेपालका भूकम्प पीडितहरुको च्यारिटीका लागि हस्तान्तरण गरिनेछ ।

Comments

comments