काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन र मुलुकको समस्या समाधानका लागि सबै दलको सहभागितामा राष्ट्रिय सरकार बन्नु पर्ने बताउनु भएको छ । तर यस्का लागि वर्तमान सरकार विस्थापन गर्न आवश्यक नभएको पनि उहाँले प्रष्ट पार्नुभएको छ ।

सोमवार विराटनगरमा संचारकर्मीहरु संग अध्यक्ष दाहालले अहिलेको सरकार विस्थापन गरेर नभई नेपाली कांग्रेस र मधेस केन्द्रित दलहरुको सहभागितामा सहमतिको राष्ट्रिय सरकार बनाउनुको विकल्प नभएको बताउनु भयो ।

अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको भारत भ्रमण सद्भावना भ्रमण मात्र हुने बताउनु भयो । उहाँले केही महिना यता भारतको संगको सम्बन्धमा केही उतारचढाव आएकोले प्रधानमंत्री ओलीको भारत भ्रमणले आपसी सद्भाव र मित्रता प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रधानमंत्रीको भारत भ्रमण अघि सबै राजनैतिक दलहरु सहभागी भएको बैठक आयोजना गरिने जानकारी पनि दिनुभयो ।

एक प्रश्नको जवाफमा अध्यक्ष दाहालले प्रदेशको सीमांकन टुङ्गो लगाउन प्रधानमन्त्रीको भारत भ्रमण अघि नै उच्चस्तरीय राजनैतिक संयन्त्र बनाइने जानकारी दिनुभयो । उहाँले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सीमांकनका लागि संयन्त्र बनाउनु भन्दा कार्यदलबाटै सीमांकनको टुङ्गो लगाउनुपर्ने धारणा व्यक्त गरेको जानकारी दिनुभयो ।

Comments