मेलबर्न । हलको चारैतिर बौद्ध धर्ममा निकै पवित्र मानिने दज्र्यू र लुङ्दारहरु टाँगिएका थिए । मन्द आवाजमा तामाङ सेलो गीत गुञ्जिदै थियो । कार्यक्रममा सहभागी हुन आएकाहरुले पनि अधिकांशले परम्परागत तामाङ पोशाक लगाएर निकै ठाँटिएका थिए । आयोजकहरु त झन् यसै पनि मख्ख तर व्यस्त हुनु स्वभाविक नै थियो । यो सब मेलबर्नको थनबरी थियटरमा आइतवार देखिएको परिदृश्य हो । जहाँ तामाङ समुदायको नयाँ वर्ष तथा महान सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा डम्फू साँझको आयोजना हुँदै थियो ।

निर्धारित समयभन्दा केही ढिला शुरु भएको डम्फू साँझ जब शुरु भयो,तब सबैले आफू नेपालभन्दा सात समुद्र पारि अष्ट्रेलियामा छु भन्ने विर्से । सबै जना डम्फू,टुङ्ना,सेलो र नेपाली गीत संगीतको गहिराइमा डुबे । आयोजकहरुको आत्मीयतापूर्ण स्वागत अनि कलाकारहरुको लोभलाग्दो र आकर्षक प्रस्तुतिले सबैजनालाई भावनात्मक रुपमा नेपालको कुनै तामाङ बाहुल क्षेत्रको झल्को दिलायो । डम्फू साँझकै लागि भनेर मेलबर्नसम्म आइपुगेका गायक प्रेम लोप्चन र सेलो क्वीनकी उपमा पाएकी गायिका इन्दिरा गोलेको प्रस्तुतिले ननचाइ छोडेनन् । नाच्न नआउँने र धकाउँनेहरुले समेत ताली बजाएर र खुट्टा हल्लाएर भए पनि साथ दिए । स्थानीय कलाकारहरुको प्रस्तुतिले कार्यक्रममा स्थानीयपन थपिदियो ।

तामाङ समाज,भिक्टोरियाको आयोजनामा भएको डम्फू साँझका आगन्तुकहरुलाई नयाँ वर्ष ल्होछारको उपलक्ष्यमा शुभ कामना दिनुहुँदै समाजका अध्यक्ष बम योञ्जनले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सहयोग पुर्याउँने सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।

यस्तै भिक्टोरियाका कन्सुलेट चन्द्र योञ्जनले सोनाम ल्होछार तामाङ समुदायको मात्र नभई सिंगो नेपालीको राष्ट्रिय पर्व बनिसकेको बताउँनुभयो । नेपाल सरकारले राष्ट्रिय पर्वको मान्यता दिइसकेको ल्होछार पर्वलाई अहिले सबै नेपालीहरुले साझा पर्वका रुपमा मनाउँन थालेको बताउँनुभयो ।

डम्फू साँझ अब आगामी शनिवार अर्थात फेब्रुअरी १३ मा सिड्नीमा पनि आयोजना गरिदैछ ।

1

2

4

5

6

7

3

Comments

comments