काठमाडौँ । अहिलेसम्म १ लाख ३४ हजार जनाको पासपोर्ट हराएको छ। राहदानी व्यवस्था विभागको तथ्याङ्कअनुसार हालसम्म १ लाख ३४ हजार पासपोर्ट हराएको छ। ती मध्ये कतिपय चोरीसमेत भएको विभागले जनाएको छ।

स्वदेश र विदेशमा गरी ती पासपोर्ट विभागको ‘लस्ट एण्ड स्टोलन’को सूचीमा परेको छ। यो संख्या हराएको वा चोरी भएको भनेर रिपोर्ट गरिएका पासपोर्ट मात्रै हुन्। हराएर वा चोरी भएर रिपोर्ट नगरिएका पासपोर्ट पनि धेरै संख्यामा हुन सक्ने राहदानी व्यवस्था विभाग बताउँछ।

दैनिकजसो पासपोर्ट हराउने वा चोरी हुने घटनाहरु बढेको छ। पत्रपत्रिकामा दैनिकजसो राहदानी हराएका सूचनाहरु प्रकाशन हुने गरेको पाइन्छ। त्यसो त पासपोर्ट हराएको वा चोरिएकोबारे जानकारी नदिनेहरु पनि पासपोर्ट हराउने वा चोरी हुने घटनाका कारण यसमा जालसाजी समेत बढ्न थालेको छ।

हालै अध्यागमन विभागले मलेसियाबाट आएका १२ जना नेपालीको पासपोर्टमा नक्कली बायोमेट्रिक पेज बनाई फोटो टाँसेर प्रयोग गरेको अवस्थामा पक्राउ पर्नुले पनि यसैलाई पुष्टि गर्दछ। राहदानी व्यवस्था विभागका महानिर्देशक लोकबहादुर थापाले दैनिकजसो पासपोर्ट हराएका सूचनाहरु आउने गरेको र यी पासपोर्टमाथि समेत जालसाजी हुन सक्ने बताउँछन्।

‘पासपोर्ट आफैँमा नक्कली हुँदैन तर यसका सुरक्षित विशेषताको कमजोरीबाट फाइदा उठाउँदै जालसाजी हुने गरेको पाइन्छ’ थापाले भने ‘यसबारे सुरक्षा निकाय, अध्यागमन विभाग र सम्वन्धित सबै पक्षसित गम्भीर छलफल गरी आवश्यक प्रक्रिया अपनाउनेछौँ ।’

पासपोर्टमा हुनुपर्ने सुरक्षित विशेषतामाथि कसैले खेलवाड गर्न नसक्नेगरी यथासक्य छिटो अघि बढ्नु जरुरी रहेको थापा बताउँछन्। ‘त्यसैले हामीले ई–पासपोर्टमा जानु जरुरी ठानेर गृहकार्यलाई तिब्रता दिएका हौँ’ उनले भने ‘त्यसअघि पासपोर्टमाथि हुने जालसाजीलाई अन्त्य गर्न सम्वन्धित पक्षसित छलफल गरेर निर्णयमा पुग्नेछौँ।’

पासपोर्ट चोरी भएमा वा हराएमा रिपोर्ट गर्न उनले सबैमा आग्रह गर्छन्। महानिर्देशक थापाका अनुसार रिपोर्ट भएका पासपोर्टलाई ‘लस्ट एण्ड स्टोलन’मा राखेर इन्टरपोलमार्फत अनुसन्धान हुने गर्दछ। यदि चोरिएको वा हराएको रिपोर्ट नै हुन नसकेमा भने पासपोर्ट लिने व्यक्ति स्वयम् जिम्मेवार हुन्छ।

Please follow and like us:

Comments