एजेन्सी । लेबनानमा इजरायलका लागि जासुसी गरेको आशंकामा समातिएको एउटा ठुलो गिद्धलाई संयुक्त राष्ट्रसंघको सहयोगमा मुक्त गरिएको छ। यो जानकारी इजरायली अधिकारीहरुले दिएका हुन् ।

करिब दुई मिटर लामो पखेता भएको यो गिद्ध इजरायली सीमाबाट उडेर आएको थियो । जसलाई मंगलबार लेबनानको ग्रामीण क्षेत्रमा समातिएको थियो । गिद्धको पुच्छरमा एउटा ट्रैकिङ उपकरण जडान गरिएको थियो, जसका कारण मानिसहरुले यसलाई जासुस ठानेका थिए । तर, उक्त उपकरण मध्यपूर्वमा गिद्धको प्रजाति बचाउनका लागि चलिरहेको परियोजनाअन्तर्गत लगाइएको बताइएको छ। वन्यजीव अधिकारीहरुका अनुसार यो गिद्धलाई गत वर्ष स्पेनबाट किनिएको थियो, र, एक महिनाअघि यसलाई इजरायल नियन्त्रित क्षेत्र गोलन हाइटको गामला प्राकृतिक पार्कमा छाडिएको थियो ।

तेल अभिभ विश्वविद्यालयले यो पंक्षीमा जडान गरिएको जीपीएस उपकरणको माध्यमबाट यसको उडानमा निगरानी गरिरहेको बताइएको छ। यसको खुट्टामा एउटा पातामा लेखिएको छ–तेल अभिभ विश्वविद्यालय इजरायल । सामाजिक सञ्जालमा गिद्धको तस्वीर सार्वजनिक भएपछि वन्यजीव अधिकारीहरुले यस विषयमा जानकारी पाएका थिए । लेबनानी संचार माध्यमका अनुसार गाउँबासीले यो गिद्धलाई कुनै जासुसी मिसनमा नरहेको पुष्टि भएपछि मात्र छाडेका थिए ।

गिद्धलाई लागेको सामान्य चोटको पनि उपचार भइरहेको बताइएको छ। यद्यपि कुनै गिद्धलाई इजरायली खुफिया एजेन्सी मोसादको एजेन्ट भएको आरोपमा समातिएको यो नै पहिलो घटना भने होइन । यसअघि सन् २०११ मा साउदी अरबले तेल अभिभ विश्वविद्यालयको उपकरण जडित एउटा गिद्धलाई हयाल क्षेत्रमा समातेको थियो ।

साउदी अरेवियाले यसलाई जासुसीकै हिस्सा बताए पनि इजरायलले भने अस्वीकार गरेको थियो ।

Comments