मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा नेपाली अभिभावकहरुको वृहद भेला सम्पन्न भएको छ । एनआरएन अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिको आयोजनामा भएको भेलामा एकै पटक ५ सय भन्दा बढी अभिभावकहरुको जमघट भएको थियो । कटाई नेशनल पार्क र वाईजमेनमा शनिबार आयोजित कार्यक्रममा समान उमेर र समूहका यति ठूलो संख्यामा रहेका अभिभावकहरु पहिलो पटक भेट्न पाउँदा उपस्थित अभिभावकहरु खुशी भएका थिए । उनीहरुले गीत, नाच, भजन,क्यारिकेचर र रमाइला चुट्किला सुनेर र सुनाएर खुबै रमाइलो पनि गरे ।

कार्यक्रममा एनआरएन संरक्षक ईन्द्रा वनले यस किसिमको बृहद अभिभावक भेटघाट आयोजना अष्ट्रेलियामा मात्र नभएर विश्वमै पहिलो पटक भएको दाबी गर्नुभयो । उहाँले यस किसिमको भेला अन्य देशमा रहेका नेपाली समुदायहरुले समेत निरन्तरता दिनुपर्ने बताउँनुभयो । एनआरएन न्यूसाउथवेल्सले यो कामको सुरुवात गरेर ऐतिहासिक काम गरेको बताउँदै उहाँले अब अभिभावकहरुको यस किसिमको बृहद जमघटको क्रम अन्यत्र पनि हुनुपर्ने धारणा राख्नुभयो । यसको नेतृत्व एनआरएनले लिनेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो ।

parentअष्ट्रेलियामा अभिभावकहरु आफ्ना सन्तानको प्रगति हेर्न उनीहरुको पढाई सकिएपछिको दिक्षान्तमा आउँछन् अथवा छोराछोरीले सन्तान जन्माएपछि उनीहरुको हेरचाह र स्याहार गर्न आउँछन् । यसरी आउँदा यहाँको जीवन शैली अनुसार उनीहरु भिज्न धेरै समय लाग्छ र नेपालकै परिवेश, नेपालीहरुसँग नै भेट्न, मिल्न र कुरा गर्न खोज्छन् तर यो सधै जुर्दैन । अझ यति धेरै संख्यामा नेपालबाट आएका अभिभावकहरु एकै ठाउँमा भेट्नु त सपना जस्तै हुन्थ्यो । यसैकुरालाई मध्यनजर राखेर एनआरएनले अभिभावकहरुको भ्रमण कार्यक्रम आयोजना गरेको एनआरएन न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेलले बताउँनुभयो ।

कार्यक्रममा सिड्नीका चर्चित हाँस्यव्यंग्य कलाकार भूपेन्द्र चुडालले आफ्ना प्रस्तुतिबाट मनोरञ्जन दिएका थिए ।
कार्यक्रममा एनआरएन न्यूसाउथवेल्सका सचिव भूपाल सिटौलाले स्वागत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले अभिभावकहरुको चाहना बमोजिम एनआरएन न्यूसाउथवेल्सले गरेको कार्यक्रमबाट आफू पनि उत्साही बनेको बताउँनुभयो । यो कार्यक्रमबाट अभिभावकहरुले एनआरएन भनेको के हो ? यसले के के काम गर्छ भन्ने बारेमा समेत हाम्रा जान्ने अवसर पाएकोले यो महत्वपूर्ण अवसर भएको बताउँनुभयो । यस किसिमका कार्यक्रम अष्ट्रेलियाका अन्य राज्यहरुमा पनि गर्नुपर्ने सिग्देलको भनाई थियो ।

parents

Comments