काठमाडौं । नेपाली कांग्रेसको आसन्न १३औँ महाधिवेशनका लागि गाउँ, नगर वडा र नगर अधिवेशन शुक्रबार मुलुकभर एकैसाथ हुदैछ ।

माघ १५ गते मुलुकभर सबै गाविसमा, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाका वडाहरुमा एकैसाथ कांग्रेसको प्रारम्भिक तहको निर्वाचन हुन लागेको हो ।

अधिवेशनमा सबै गाविस र नगर वडाबाट करिब एक लाख ४७ हजार क्षेत्रीय प्रतिनिधि तथा स्थानीय समितिका पदाधिकारी सदस्य निर्वाचित हुने लागेको हो । मुलुकमा २०५४ सालयता स्थानीय तहको निर्वाचन हुन नसकेको अवस्थामा हुन लागेको काँग्रेसको यस अधिवेशनले स्थानीय तहमा थोरै भए पनि प्रजातान्त्रिक अभ्यासमा जनसहभागिता बढाउने विश्वास लिइएको छ । समितिले निर्वाचनका लागि सबै तीन हजार १५७ गाविस, २१७ नगरपालिका, २४० निर्वाचन क्षेत्र र ७५ जिल्लामा निर्वाचन सामग्रीका साथै निर्वाचन अधिकृतसमेत पठाइसकेको छ ।

यो अधिवेशन पार्टीको प्रारम्भिक तहको निर्वाचन भए पनि पार्टीको जिल्ला र केन्द्रको नेतृत्व चयनका लागि आवश्यक पर्ने महाधिवेशन प्रतिनिधि चयनमा महत्वपूर्ण मानिन्छ । यतिखेर काँग्रेसका नेता कार्यकर्ता निर्वाचनमा सहभागी हुन तीव्र प्रतिस्पर्धा गरिरहेका छन् ।

पूर्वी तराईका केही जिल्लामा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट केही अवरोध हुने आशंका भए पनि अधिवेशनका कार्यक्रम तोकिएको मितिमा जुनसुकै हालतमा पनि सम्पन्न हुने ती क्षेत्रका जिल्ला सभापतिहरुले बताएका छन् ।

Comments

comments