काठमाडौं । रेशम फिलीली फिल्मको पिरतिको छाता ओड न गीतबाट उधुमकै चर्चा कमाएका गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटा र नायिका केकी अधिकारीबीचको प्रेम सम्बन्धले यतिखेर शोविजमा चर्चा पाइरहेको छ ।

झन् भ्यालेन्टाइन डे आउँन केही दिन बाँकी छँदै कालिले दिएको रातो गुलाफको फूल नायिका केकीले पनि हाँसी हाँसी स्वीकार गर्दै गरेको फोटो पत्रपत्रिका र अनलाइनहरुमा सार्वजनिक भएपछि दुवैलाई आफ्नो बनाउँन चाहनेहरुलाई हुनसम्मको औडाहा भएको होला ।

तर उनीहरुले यी सब एउटा म्यूजिक भिडियोका लागि मात्र गरेका हुन् । संगीतकार कालिप्रसाद बाँस्कोटाको एकल म्युजिक भिडियोमा नायिका केकीसँग कालि आफैं अनस्क्रिन रोमान्स गर्न तम्सिएका हुन् । उनले भिडियोको सुटिङ केही दिन अघि सिध्याएका छन् । डुबिरहन देउ मलाई बोलको गीतको म्युजिक भिडियोमा उनलाई अभिनेत्री केकी अधिकारीले साथ दिएकी हुन् ।

माघको अन्तिम साता रिलिज गर्ने तयारी रहेको डुबिरहन देउ मलाई गीतको रचना र संगीत संगीतकार बाँस्कोटाले गरेका छन् । म्युजिक भिडियोको निर्देशन भने प्रणव जोशीले गरेका छन् ।

यसवर्ष तीन वटा गीतहरु सार्वजनिक गर्ने सोच अनुसार पहिलो गीतको म्युजिक भिडियोमा काम गरेको कालिले बताए ।

Comments

comments