–प्रतिमा भट्ट

यो कुनै काल्पनिक कथा होइन । बरु अनेक रंगीन सपनाहरुको च्यादर ओडेर सात समुद्रपारिको अष्ट्रेलियामा आएका एक नेपाली युवाले भोग्नुपरेको दुख र हण्डरको कथा हो । नाम बताउँन नचाहने यी युवाको कथाले सपना र आश्वासनको त्यान्द्रोमा झुण्डिदै अष्ट्रेलियासम्म आइपुग्ने नेपालीहरुको वास्तविकता छर्लङ्ग पारिदिएको छ । साथमा आत्मविश्वास र धैर्यता भए जतिसुकै अप्ठ्यारो,अभाव र दुखबाट पनि उन्मुक्ति पाउँन सम्भव छ भन्ने दर्शाउँछ ।
……………………………….

सपना सजाएर आएँ, सबैबाट टाढा, देशलाई छाडेर–यो बिरानो ठाउँमा । कुरा ३ वर्ष अगाडिको थियो । संघर्षका ती दिनहरु अझै पनि कालो बादल जसरी मडारी रहेको छ मनभरि ।  प्लेनमा चढ्दा खुशीले आफ्नो मनलाई नियल्दै थिएँ । त्यखिेर धेरै कुरा पाएको अनुभूति भैरहेको थियो । आफू केही बन्न अनि देशको लागि समेत केही गर्ने अनेकथरी सपनाहरु बुन्दै थिएँ ।

आफ्नो नजिकको कोही थिएनन् यहाँ त्यतिखेर । तर मेरो बाबाको चिनजानको कोही थिए । वास्तवमा उहाँहरुकै मिठा मिठा कुराको विश्वासमा लठ्ठिएर खुशी हुँदै आएको थिएँ म ।  उहाँले बाबासँग भन्नुभएको सुनेको थिएँ– “ केही चिन्ता लिनु पर्दैन । बस्ने घर,जागिर सब कुराको बन्दोबस्त म गरिदिन्छु ।

मनमा यस्तै सपनाहरु बुन्दा बुन्दै झल्याँस्स ब्युझिएँ । अनि एउटा मिठो आवाज कानमा गुञ्जियो– “ नाउ एराइभिङ एट मेलबर्न भिक्टोरिया ।“ सोचें सपनाको नगरी आइपुग्यो । जब प्लेनबाट उत्रिएँ,सुन्दर सहरलाई देखेर खुशीको सीमा रहेन । खुशी हुदै एयरपोर्टमा लिन आउँछु भन्ने दिदीलाई कुरिरहें । तर कुराइ यति लामो भएछ कि दुई रात बितेको पत्तै भएन ।

एयरपोर्टको कक्षमा बाहिर भित्र गर्दै,मोबाइलको ब्याट्री पनि सकियो । त्यतिबेला भैसक्दा पनि कोही लिन नआउँदा मन आत्तियो,जुन अस्वभाविक थिएन । त्यतिखेर झोलामा भएको त्यो चुरोट कता कता आफ्नो सहारा भएको महसुस भयो ।

चुरोट तानी राखेको मेरा आँखा एउटा ट्यक्सी चालकमाथि पर्यो । परिचय भयो,उनी छिमेकी मुलुक भारतबाट रहेछ । उसलाई सबै कुरा सुनाएपछि उसले मलाई फेडेरेशन स्क्वायरमा धेरै नेपालीहरु भेटिने बताए । त्यसैले उनले मलाई त्यही लगेर छोडिदिने प्रस्ताव राखे । उनले देखाएको झिनो आशामाथि शंका गर्न सकिनँ । त्यसैले उनको पछि लागेर उनकै ट्याक्सीमा गएँ । नभन्दै त्यहाँ धेरै नेपाली भेटें तर बोल्न डर लाग्यो । चुपचाप ३ दिन अनि ३ रात यार्रा रिभरको त्यो छेउमा बसें । मलाई त्यो फ्लाइन्डर्स स्टेशन आफ्नै घर जस्तो लाग्यो । अनि घाम लाग्दा त्यही यार्रा रिभरलाई आफ्नो भाग्य । तीनदिन बसेपछि  यूनिभर्सिटी गएँ । त्यहाँको होस्टेलमा एक महिना बसें तर आफ्नो हैसियतभन्दा महँगो भएकाले छाड्नुपर्यो । त्यतिञ्जेलसम्म केही साथीहरुसँग चिनजान भैसकेको थियो । त्यसैलै तिनै साथीहरुसँगै बस्न थालें । त्यतिञ्जेलसम्म कामको कुनै ठेगान थिएन । तर पनि साथीहरुले साथ दिएकाले आफ्नो जीवनलाई जसोतसो कङ्गारुको यो महान देशमा अल्झाइरहन पाएँ । कति समय बित्यो तर जीवनमा कुनै बादलव आएन । त्यही बेला एक्कासी कलेजले पनि फी तिर्न नसकेरको भन्दै भिसा क्यान्सिल गर्दिएपछि प्लेन चढ्दा देखिएका रंगीन सपनाहरु एक एक गरेर श्याश्वेतमा परिणत हुँदै धुमिल बन्दै गए । तर पनि ममा हिम्मत जुट्दै थियो  । शायद परिस्थितिसँग जुध्दा जुध्दा मन पत्थरको बनिसकेको थियो । साथीहरुले आफ्नो जागिरमा एक  एक दिन आफ्नो सिफ्ट काटेर मलाई पठाईदिए । हो,त्यहीबाट मेरो जिन्दगीले टर्निङ लियो र मलाई आज यहाँसम्म ल्याइपुर्यायो ।

त्यसपछि धेरै दुख गरेर अलि अलि पैसा जम्मा गरें अनि साथीहरुको सहयोगले फेरि अर्को सिओइ निकालेर फेरि पढ्न थालें । यसबीचमा जब पाएँ तर धेरै टाढाको । वेस्ट उट्स्क्रेबाट लास्ट ट्रेन चढेर फ्लाइन्डर्समा सुतेर बिहानैको अर्को ट्रेन चढेर काममा पुग्नुपर्थ्यो । तर पनि त्यस्तै गरी २ डलरको चिप्स खाई फ्लाइन्डर्समा सुतेरै भए पनि २ महिनासम्म काम गरें । यसबीचमा हेल्थमा समस्या देखियो । शायद निन्द्रा अनि खानाको कारणले होला  । त्यसैले एकदिन त्यो जब पनि छोडिदिएँ । त्यसपछि पाएको दुखको छुट्टै फेहरिहस्त छन् । सुमन देउजा उर्फ सम नेपालीेसँग मेरो भेट भयो । उहाँले त्यतिबेला मलाई सहारा दिनुभयो । अथवा भनौं आफ्नो हात मेरो शीरमा राखिदिनुभयो । अनि मेरा तिनै साथीहरु हुन् जसले मलाई जब खोजिदिए । उनीहरुको माया,सहाराप्रति म अझै ऋणी छु । किनकि आज म जहाँ छु,त्यो उनीहरुकै सहयोगको कारण हो ।

Comments