काठमाडौँ । गणपूरक संख्या नपुगेर स्थगित भएको व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १ बजे बस्ने बैठकमा विभिन्न विधेयक पेश हुने बुझिएको छ ।

यसअघि सोमबारको बैठकमा गणपूरक संख्या नपुगेपछि आजका लागि स्थगित भएको थियो ।

यसैबीच, संसदको बैठक अलि लामो समयसम्मका लागि स्थगित गर्ने तयारी भएको छ । संसद सचिवालय स्रोतका अनुसार कांग्रेसको मागअनुसार माघको अन्त्यसम्म संसद बैठक स्थगित हुनेछ ।

कांग्रेसले माघको १५ गतेदेखि सुरु हुन लागेको आफ्नो गाउँ र नगर अधिवेशनका कारण संसदमा आउन नसक्ने जानकारी गराएपछि संदन केही दिनका लागि स्थगित गर्ने तयारी भएको हो ।

सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार वविन शर्माले पनि संसदको बैठक कांग्रेसको महाधिवेशनका कारण केही दिन स्थगन हुन सक्ने बताउनुभयो । ‘कांग्रेसको महाधिवेशन आउँदैछ’, उहाँले भन्नुभयो, ‘कार्यव्यवस्थामा यो विषयमा छलफल हुन्छ । त्यसपछि कहिलेसम्म स्थगित गर्ने टुङ्गो लाग्नेछ ।’

Comments